• ७ भदौ २०८२, शनिबार

हलेसी यात्रामा रोसी सम्झना

blog

उर्मिला मेरी माइली दिदी । दिदीको परिवारले खोटाङ जान स्कोर्पियो व्यवस्था गर्नुभएको रहेछ । यात्रा निश्चित गरिएका परिवारका अरू सदस्यको योजना अचानक बिथोलिएछ । गाडीको दुई सिट खाली भएपछि दिदीले बहिनीहरूलाई नसम्झिने कुरै भएन, हामीलाई प्रस्ताव राख्नुभयो । शुक्रबार गएर शनिबार फर्किने । खुदो भयो मलाई त झन् । शुव्रmबार बिहान घर र भान्सा व्यवस्थापन गरेर गएपछि भोलि त शनिबार नै छ ।

उडे मेरा पाइतला खोटाङ छुनलाई । हलेसीको दर्शन जुराएको रहेछ, घरबाट पनि सहजै बिदा मिल्यो । बुधबार दिदीकै घरमा तय भयो हलेसीको यात्रा । दिदीको छोरा अंशुले “हजुरहरू भोलि यहीँ बस्ने गरी नै आउनू, पर्सि त ६ बजे नै गाडी छुट्छ । ढिलो हुन्छ गुर्जुधाराबाट बिहान आउन” भनेपछि मेरो मनले हिसाब गर्न थाल्छ । घरको व्यवस्थापन देख्छु झल झल । एक एक मिनेटको महत्व उद्घाटित हुन्छ । आज पनि यतै छौँ । भोलि फेरि यतै आउँदा त जाने दिनको घरको व्यवस्थापनमा बाधा पुग्छ । छोरीहरूको जाँच छ । जेठीको काम छ समयमै पुग्नु पर्छ अफिस । बुढी भएकी सासूआमालाई सास्ती हुन्छ भान्सामा । बिहान समयमा खाना पकाउन त आमालाई पनि सकस हुँदैन तर बिहान त्यो पनि ब्रह्ममुहूर्तको बेला उठेर पकाउनु पर्छ । मै उभिनु पर्छ जसरी पनि बिहानको डिउटीमा । ठिक छ दुःख अलिकति होला तर पर्सि नै आउने । अंशुलाई हेरर भन्छौँ, “हेर बाबु तेरा सानिमाहरू तैँले जति बजे आइज भन्छस् उति बजे हामी हाजिर हुन्छौँ तर हामी शुक्रबार नै आउँछौँ ।” 

मन दङ्गिएको छ । कल्पिन्छ सानैदेखि सुन्दै आएको हलेसी महादेवको दर्शन गर्न । हलेसीको अद्भुत कथाहरू एक एक गरेर बज्न थाल्छ कानमा ।

जाने दिन राति नै मुरलीमकै भुटेर ठिक्क पारेकी छु । काँक्रो पनि बडो मिठोखाले किनेर ल्याएकी छु । राति नै पखालपुखुल पार्छु । पिनट, मकै साँधेको रेडिमेड खाजा पनि सुभाषले ल्याइदिनुभएको छ । ट्रेकिङ ब्यागमा सामान मिलाएर तयार पार्छु । लुगा पनि पातला पातला चार जोर नै हाल्छु । अस्ति सैनामैना जाँदा खाएको सास्ती भुलेकी छैन । बाटोमा धुलो र पानीले छोप्न सक्छ । हिँडेपछि जे पनि हुन सक्छ । लुगा त बोक्नुपर्ने रहेछ अतिरिक्त भन्ने ज्ञान लिएर फर्किएकी थिएँ रुपन्देहीबाट । 

शुक्रबार सखारै उठेर खाना तयार पारेर राखिदिएँ । बाबुको लन्च बक्स पनि भरिदिएँ । जेठी छोरीलाई खाजासम्म तयार पारिदिएँ । भरेलाई दाल तरकारी पनि छुट्याएर राखिदिएँ । 

निता दिदी र म घडी हेर्दै गुर्जुधाराबाट सार्वजनिक बस चढ्यौँ । बिहानको समय छ सरर गुड्छ गाडी भन्दै विश्वस्त छौँ तर भनेको जस्तो भएन गाडीको चाला । गाडी त पाइलैपिच्छे घ्याच्याक घ्याच्याक गरे रोक्न पो थाल्यो । भएन त फसाद । कहिलेकाहीँ फिलिली एकैछिनमा पु¥याउँछ कहिले यस्तो छ चाला । हामी त्रिपुरेश्वर पुग्दा त ५:३० भइनै सक्यो अनि हतार हतार गाडीबाट झरेर पठाओलाई बोलायौँ । लोकन्थली चोक पुग्दा ६ बज्न १० मिनेट बाँकी थियो । अनि पो हाम्रो फोक्सोले आनन्दको हावा छोड्यो । 

निता दिदीले “उर्मिला दिदी ! कता छ गाडी, हामी त अंशुले भनेको समयमा ट्याक्कै आइपुग्यौँ” भनेर फोन लगाउनुभयो । उताबाट दिदीले “हेर्न नानी चालक आधा घण्टापछि हिँड्छ रे, घर नै आओ । चियासिया पिएर चढौँला घरैबाट गाडी” भनेपछि एकछिन आफ्नै बुद्धि देखेर रिस पनि उठ्यो । अगि पठाओमै हुँदा फोन गरेर पक्का त गर्नुपथ्र्यो ? अब दिदीको घरसम्म झोलाझाम्टा त बोक्नै प¥यो । 

दिदीबहिनी हिँड्न थाल्यौँ दिदीको घरतिर । निस्ट स्कुलभन्दा अलि पर्तिर छ दिदीको घर । बिगमार्टभन्दा अलि अगाडि । आमाको दोस्रो रूप हो दिदी तर हाम्री माइली दिदी अलि ज्यादै हुनुहुन्छ । दिदीको व्यवहारमा अपार स्नेह छ । मनको आँखाले देख्नुहुन्छ । मन ढुक्क हुन्छ दिदीलाई सम्झिँदा मात्र पनि । दिदीबाट मन हटाएर म हेर्छु लोकन्थलीको प्रभाती भूगोल । पसलका सटर प्रायः बन्द छन् । सूर्यनारायणको दर्शन भएको छैन अहिलेसम्म । हुन त गगनमा उदायमान भइसके भानु । भाष्करले प्रकाश लिएर चराचर जीवनलाई ऊर्जावान् पार्न भुल्दैनन् । प्रकाशको उपहार लिएर विचरण गर्न थालिसके नभोनीलमा । कुनै कुनै पसल खुल्ने क्रममा छन् । सडक सफा पार्ने दिदीबहिनी, दाजुभाइ नाकमुख छोपेर फोहोर व्यवस्थापन गर्दै छन् । कतै सागको भारी लिएर आउँदै छन् किसान । कतै परालले साग मुठा पार्दै छन् । 

दिदीको घर पुग्दा भिनाजु तयार भइसक्नुभएको रहेछ । अरू चिया खाजा खाँदै थिए । हामीले पनि रोटी खायौँ मालभोग केरा बेरेर । गहुँ, कोदो मिश्रित रोटी मिठो लाग्यो । एक कप कफी पनि रुच्यो ।  गाडीको हर्न लाग्यो । झटपट हामी झ¥यौँ । लोकन्थलीबाट हुइँकियौँ अरनिको राजमार्गतिर । छिट्टै पुग्यौँ धुलिखेल । धुलिखेलमा उस्तो जाम थिएन । बिपी राजमार्गतिर लाग्दा शीतल हावाले स्वागत ग¥यो । तीव्र छ गाडीको गति सडक खाली नै छ । 

भकुन्डेबेँसी हुँदै गुडेका छौँ । जब जब रोसीको फिँजारिएको रूप देख्छु डरको पहाड पुनः खस्छ मनमा । देख्छु उर्लंदो खोला । मेरा आँखाअगाडि सादृश्य हुन्छ २०८१ असोजको १०, ११ र १२ गतेको त्यो विनाशकारी बाढी । सुरेश भिनाजु फस्नुभएको थियो, रोसीको भेलमा । घरमा डरको साम्राज्य फैलिएको थियो । आँखाअगाडि देख्छु ती आततायी दृश्य । अझ अगाडि पुग्दा देखिन्छ पानीको त्यो आतङ्कित रूपले निम्त्याएको विनाशको अवशेष । 

विनाशको समय सजीव भएर उठ्छ चारैतिरबाट । पानीको तागत बेजोड भएर क्रुद्ध वरपर । पानीको सरल रूप अर्थहीन लाग्छ, रोसीको छातीमा गुड्दा । पानीको आवाज श्रुतिहीन सुन्छु । कल कल गरेर बग्ने पानी आतङ्कको सङ्गीत अलाप्दै छ । त्यो पानी गडङ्डङ गर्दै मानव सभ्यतालाई निल्न खोज्दै छ । मलाई पानी अक्सिजन र हाइट्रोजनले बनेको पदार्थ जस्तै लाग्दैन अहिले । पानी त विशाल हातहतियारले बनेको युद्ध सामग्री हो भन्ने लाग्दै छ । महासमरमा पानीको जुलुस उठेको रहेछ । सैनिक भएर आफ्नो अस्तित्वका खातिर जुर्मुराएको चेतना जस्तो लाग्दै छ पानी । पानी शीतल मात्र कदापि हुँदैन । पानी आगो भएको हेर्दै छु । पानी तरल मात्र कदापि होइन पानी त वज्र भएको महसुस गर्दै छु । पानी प्यास मेट्ने साधन होइन पानी त घर, मान्छे, जङ्गल, जमिन निल्ने राक्षस भएको देख्छु ।

पानीको कुनै निश्चित परिभाषा छैन । पानीको एउटै नाम छैन । पानीको एउटै जात हुँदैन रहेछ । पानीलाई म त ब्रह्मा, विष्णु महेशका रूपमा पनि देख्दै छु ।

जति जति राजमार्ग हराएको ठाउँमा पुग्छु, मनले भन्छ राजमार्ग निलेर कता सुक्यो यो रोसी । गाउँ खाएर यसलाई अब पुग्यो होला त ? कि फेरि यो दोहोरिन्छ ? मन भत भत पोल्दै छ रोसीको रौद्र रूप देखेर । रोसीको काखमा घरहरू सुतेका छन् चिरनिद्रामा । भत्किएका छन् खोला छेउका घरहरू । म देख्छु खोटाङ हिँडेको बेला खोलामा सुतेका घर । मन अत्तासिन्छ ।

प्रकृति रिसाउँदा पानी समर बनेर बग्दो रहेछ । मान्छे लोभमा रोगी बन्दै छ । आफूलाई निकै क्षमतावान् ठान्छ, मान्छे । प्रकृतिलाई आफ्नो हातमा नचाउन चाहन्छ । हे मुर्ख मान्छे हेर तेरो पाइन तँ कुन अवस्थामा छस् बुझ् । तँलाई कति चोटि देखाऊँ तेरो हैसियत । कोरोना, बाढी, पहिरो, भूकम्प, आँधी तुफान, के के देखाइन मैले तँ अहङ्कारी जातलाई तर तँ तेरो सीमित ज्ञानमा बौलाउँछस् । तँलाई बौलाउन मन लाग्छ अब हेर म बौलाउँदा के के हुँदो रहेछ । म झ्यालबाट हेर्दै छु, खोलालाई । खोला मसँग बोलेको सुनेर हतार गर्दै झ्याल लगाउँछु । 

पर पर देख्छु, अस्थायी बाटो निर्माण हुँदै छ । डोजर, एक्साभेटर चल्दो छ, बगरमा । छक्क परेकी छु, खोला त माथि माथि पो देख्छु । भरिलो छ खोला । ‘कहाँबाट आयौ खोला कता जाने होला’ भनेको झैँ त्यत्रो ढुङ्गा र बालुवाको रास कताबाट आयो खोलाको छातीमा । 

म हेर्दै छु वर्तमान रोसी किनारलाई । मान्छेले भुलिसक्यो त्यो भीषण बाढी । खोलालाई चलाएर बिथोलेपछि, खोलाको सौन्दर्य लुटेको परिणाम हो रोसीको रौद्र रूप । नदी मासेर बस्ती बसाउने । घर बनाउने । नदीको सौन्दर्य नष्ट गर्ने । नदीको निजी सम्पत्ति मान्छेले आफ्नो कब्जामा लिन थाल्यो । ढुङ्गा झिकेर उद्योग चलाउने, पैसा कमाउने लालच झन् झन् बढ्दै गयो । नदीबाट बालुवा झिक्न रत्तिभर दकस मान्दैन मान्छे  । त्यतिले नपुगेर नदीको छातीमै क्रसर उद्योग मनपरी खोले । डरलाग्दो गरी प्रकृतिको दोहन गर्न अतृप्त मानव पछि हटेनन् । खोलाको अस्तित्व मेटेर मान्छे मोटाउने संस्कृति हाबी हुँदै गयो । ढुङ्गा, बालुवामा सजिलै पैसा फलेको देख्न थाल्यो मान्छे । रत्तिभर सोच्न सकेनन् प्रकृतिको विरोधलाई । जब प्रकृतिले बदला लिन्छ तब मान्छेको बौद्धिकता निमेषभरमा फेल खान्छ । विज्ञानको आडमा निर्माण गरेको यन्त्र बग्छ पानीमा । एक्साभेटर र डोजरको सहायताले खोला खनेको मान्छेले सोच्न पनि सक्दैन प्रकृतिको शक्ति । पानीले पानीबाटै बनाउँछ विनाशकारी यन्त्रहरू । भत्काउँछ पहाड पानीले । फोड्छ ढुङ्गा पानीले । बगाउँछ सहर पानीले । डुबाउँछ ज्ञान पानीले । उडाउँछ छाना पानीले । पानी स्वयं विज्ञान भएर जब फैलिन्छ तब हार्न विवश हुन्छ मान्छे । पानीले पानीबाटै बनाएको डोजर र एक्साभेटरलाई मान्छेको ज्ञानले रोक्न सक्दैन । प्रकृतिको रौद्र रूप  बेला बेलामा देखेर पनि लोभियो मान्छे । अनि मनलाग्दी झिक्न थाल्यो नदीको अङ्ग अङ्ग । तस्कर बने मान्छे । नदीको अङ्ग अङ्ग झिकेर बेच्न पल्किए । त्यसैले मलाई उचित लाग्यो रोसीको यो किसिमको विद्रोह । अन्यायका विरुद्धमा आवाज उठाउनु पर्छ भन्दै वकालत गर्ने मान्छे, के भन्छ रोसीको विद्रोही आवाज सुनेर । रोसीको रौद्र रूप देखेर । हतियारविहीन रोसीलाई नङ्ग्याउन कुनै कसर बाँकी नराखेका कथित प्रबुद्ध मान्छे जब रोसीले आफ्नो पाइन देखाउन थाल्यो तब जिल खाए । किनारमा बसेर हेरेको हेरै भयो विवश आँखाले खोलाको विद्रोह । 

बाढी आउँदा रोसीलाई मात्र दोष दिन सकिनँ । पूर्वप्रशासक गोपी मैनालीले लेखेका कथामा रोसीलाई नजिकबाट हेरेकी छु । रोसीको सेरोफेरोमा अक्षरमार्गबाट म बारम्बार आएकी छु । बाढीले कसरी एउटा समय र सभ्यतालाई बगाएर लैजान्छ भन्ने चाल पाएकी छु ।  बिपी राजमार्गबाट हिँड्दा म जहिले सम्झिन्छु मैनाली परिवारलाई तर आज त विशृङ्खलित सपनालाई अझ धेरै सम्झिएकी छु ।