• ८ भदौ २०८२, आइतबार

शैक्षिक सुधारका लागि गाउँपालिकाले थाल्यो विद्यालय अनुगमन

blog

गाउँपालिकाका अध्यक्ष युक हां वी हाङ्गाम (डम्बर)ले विद्यालयको कक्षाकोठामा पुगेर विद्यार्थीको पठनपाठन नियाल्दै । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, भदौ ७ गते ।
शैक्षिक गुणस्तर सुधारका लागि मेरिङदेन गाउँपालिकाले विद्यालय अनुगमनको कार्य सुरु गरेको छ । गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले शैक्षिक गुणस्तर सुधारका लागि प्रत्येक विद्यालयमा अनुगमनको कार्य थालनी गर्नुभएको हो ।

३६ वटा विद्यालय रहेको पालिकाको पहिलो चरणमा १ नम्बर वडा थिङ्लाबुको श्री सिंहकाली माध्यमिक विद्यालय र ४ नम्बर वडा लिङ्तेपको श्री देवी आधारभुत विद्यालयमा अनुगमन गरिएको पालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । अनुगमनको क्रममा पालिकाको टोलीले प्रत्यक्ष विद्यार्थीसँग साक्षात्कार गरी पढाइको विषयमा प्रतिक्रिया लिएको थियो ।

त्यस्तै, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षकसँग पठनपाठनको गुणस्तर बढाउन पालिकाले सुधार गर्नुपर्ने विषयमा सल्लाह सुझाव समेत माग गरिएको र पालिकाको तर्फबाट आवश्यक निर्देशन समेत दिइएको बताइएको छ । पालिका अध्यक्ष हाङ्गामले अनुगमनको क्रममा शिक्षकको हाजिरी पुस्तिका तथा विद्यार्थीको अभ्यास पुस्तिका समेत चेकजाँच गर्नु भएको थियो । अध्यक्ष हाङ्गामले क्रमशः सबै विद्यालयको कुनैपनि समयमा अनुगमन गर्न सकिने बताउनुभएको छ ।

पालिकाको ६ नम्बर वडा नाल्बुको पान्दोलुङ माध्यमिक विद्यालय, ५ नम्बर वडा थुकिमाको सुर्के माध्यमिक विद्यालय र ३ नम्बर वडाको पृथ्वी माध्यमिक विद्यालयमा सिसिटिभी समेत जडान गरिएको छ । विद्यालयमा स्थापना गरिएको साइन्स ल्याब आइसिटी ल्याब तथा अन्य सुरक्षाको लागि सिसिटिभी जडान गरिएको सूचना अधिकारी लिम्बूको भनाइ छ । उहाँका अनुसार पृथ्वी मावि र सुर्के मावि मा स्मार्ट बोर्ड जडान गरी पठनपाठनको कार्य जारी राखिएको छ ।

दुई हजार आठ सय चौँसट्ठी जना विद्यार्थी रहेको पालिकामा गत आर्थिक वर्ष २०८१–०८२ मा २५ लाख बजेट विनियोजन गरी विभिन्न शीर्षकमा खर्च गरिएको पालिकाले जनाएको छ । त्यस्तै केही नयाँ योजनालाई थप तथा पुरानालाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा समेत २५ लाख रुपैयाँ नै बजेट विनियोजन गरेको छ ।