भावना जोशी
अत्तरिया (धनगढी), भदौ ५ गते । ‘राष्ट्रिय स्वर्णविन्दु प्राशन’ कार्यक्रमको शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्णविन्दु प्राशन’ कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै बौद्धिक र शारीरिक विकासलाई प्रवर्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियान सुरु गरिएको मन्त्री पौडेलको भनाइ छ ।
प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
यस कार्यक्रमलाई नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गर्दै यसलाई वैज्ञानिक रूपमा विकास गरी आधुनिक जनस्वास्थ्य प्रणालीसँग जोड्न सकिने मन्त्री पौडेलको भनाइ छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवले ‘स्वर्ण विन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’मा वर्णन गरिएको एक परम्परागत विधि भएको बताउनु भयो ।
मन्त्रीले धनगढीबाट‘स्वर्ण विन्दु प्राशन’ शुभारम्भ गरेसंगै देशका २५ वटा जिल्लाबाट यकै साथ सुरु भएको जानकारी दिनुभयो ।
यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा. पुष्पराज पौडेलले ‘स्वर्ण विन्दु प्राशन’ को वैज्ञानिक पक्षहरू रहेको बताउनु भयो ।
यस्तै, कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले प्रदेश र केन्द्र सरकारले स्थानीय तहसँग समन्वय र सहकार्य नगरेको धारण राख्नुभयो । उहाँले सुदूरपश्चिम प्रदेशका गरिबी २० बाट बढेर ३५ प्रतिशत भएको भन्दै यसको मुख्य कारण स्वाथ्य क्षेत्र भएको समेत बताउनु भयो ।
के हो स्वर्णविन्दु प्राशन ?
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.श्यामबाबु यादवका अनुसार स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर बनाइएको थोपा नै स्वर्णविन्दु प्राशन हो।
‘स्वर्णविन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो।
यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार रहेको उहाँले प्रष्ट पार्नुभयो । उहाँका अनुसार यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ।
स्वर्णविन्दु प्राशनको प्रयोगले बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ६ महिनादेखि ५ वर्षसम्म वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइन्छ । ज्वरो, झाडापखाला, आउँ, रुघा खोकी लागेका बालबालिकालाई खुवाइँदैन।
यसअघि तीन जिल्लामा परीक्षणको रूपमा खुवाइसकिएको र उक्त कार्यक्रम सफल भएपछि देशव्यापी रूपमा खुवाउने अभियान सञ्चालन गरिएको हो ।
राष्ट्रिय स्वर्णविन्दु प्राशन कार्यक्रमलाई देशव्यापी रूपमा व्यवस्थित, सुरक्षित र एकरूपताका साथ सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले ‘राष्ट्रिय स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२’ स्वीकृत गरेको छ ।
आजबाट २५ वटा आयुर्वेदिक स्वास्थ्य संस्थामार्फत यो कार्यक्रम सञ्चालन गरेको छ । आगामी वर्षमा क्रमिक रूपमा आयुर्वेद स्वास्थ्य संस्था रहेका सबै स्थानीय तहमा विस्तार गर्दै लैजाने योजना रहेको डा. यादवले जानकारी दिनुभयो ।