• ५ भदौ २०८२, बिहिबार

नदीका जीवजन्तुको संरक्षणमा जोड

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), भदौ ५ गते । कर्णाली नदीको पानीमा आश्रित जीवजन्तुको संरक्षणमा जोड दिन थालिएको छ । कैलालीको टीकापुरमा शक्रबार र शनिबार आयोजित गोष्ठीमा सरोकारवालाले जोखिममा रहेका जीवजन्तुको संरक्षणमा जोड दिएका छन् । 

नेपालमा पाइने तीन किसिमका ओतमध्ये कर्णाली नदीमा पाइने खैरो ओतको मुख्य आहारा कर्णालीको माछा रहेकाले माछासँगै ओत संरक्षणका लागि सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको संरक्षणकर्मी हिरूलाल डङ्गौराले बताउनुभयो । ओतमा विद्यावारिधि गरिरहनुभएका मोहनविक्रम श्रेष्ठले ओतका विषयमा जानकारी गराउँदै मानवीय गतिविधिका कारण ओत सङ्कटापन्न अवस्थामा रहेको बताउनुभयो । 

उहाँले ओतको छाला बिक्रीवितरणले चोरीनिकासी बढ्दै गएपछि ओत संरक्षणमा विशेष चासो दिन थालिएको उल्लेख गर्नुभयो । धुन्चेमा आफूले ७५५ वटा ओतको छाला बिक्री व्यापार गरेको पाएको बताउँदै उहाँले भन्नुभयो, “ओत सूचक प्रजाति हो । ओत पाइने ठाउँमा सफा पानी पाइन्छ । कर्णाली नदीको पानी सफा भएका कारण यहाँ खैरो ओत पाइन्छ । ओतको मुख्य आहारा भनेको माछा हो ।”

अनधिकृत, कर्णाली नदीमा गिट्टी, बालुवा उत्खनन र माछा निकासीले ओतको आहारा तथा वासस्थानमा असर परेको बताइएको छ । माछाविद् सुरेशकुमार वाग्लेले नेपालमा जलचरसम्बन्धी बनेका ऐन कानुनका विषयमा जानकारी दिँदै माछा संरक्षणका सवालमा कानुनी प्रावधान पर्याप्त नभएको बताउनुभयो । नेपालमा २३२ प्रजातिका माछा पाइन्छन् तीमध्ये रारातालमा पाइने तीन प्रकारका माछा लोपोन्मुख अवस्थामा छन् । 

अर्का वातावरणविद् दिनेशचन्द्र जोशीले नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खननले प्राकृतिक प्रकोप निम्त्याउने मात्र नभई यसले वन्यजन्तुमा समेत नकारात्मक असर परेको बताउनुभयो । नदीजन्य पदार्थ उत्खननले जलचर प्राणीमा असर पर्ने उल्लेख गर्दै स्थानीय सरकारले गिट्टी, बालुवा निकासीमा मात्र ध्यान दिने गरेको र त्यसले पार्ने असरका विषयमा चासो नदिने गरेको छ । “चुरे संरक्षण नभएकाले तराईमा पानीको समस्या हुनुका साथै अतिवृष्टि, खण्डवृष्टि हुने गरेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारबिच समन्वयको खाँचो छ, वातावरणविद् जोशीले भन्नुभयो, “विकास र संरक्षणलाई सन्तुलनमा राख्न जरुरी छ ।”

कार्यक्रममा कैलाली र बर्दिया जिल्लाका सशस्त्र प्रहरी र जनपद प्रहरी, वन कर्मचारी, निकुञ्जका कर्मचारी, संरक्षणको क्षेत्रमा काम गर्ने सङ्घ, संस्थाका पदाधिकारीलगायतको सहभागिता रहेको थियो । सन् २०२४ देखि ‘कर्णाली नदीमा ओत (उदुवा) संरक्षणका लागि समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सबलीकरण परियोजना’ समुदायस्तरमा सञ्चालन भइरहेको छ ।