• ५ भदौ २०८२, बिहिबार

ब्लड बैङ्क र अक्सिजन प्लान्ट अभाव

blog

ब्लड बैङ्क तथा अक्सिजन प्लान्ट नहुँदा उपचारमा समस्या हुने गरेको कोल्टी आधारभूत अस्पताल । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, भदौ ५ गते ।  बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी आधारभूत अस्पताललाई ब्लड बैङ्क तथा अक्सिजन प्लान्टको अभाव हुने गरेको छ । यस अस्पतालमा यहाँका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र छिमेकी जिल्ला मुगु र हुम्लालगायतका बिरामी आउने गर्छन् । बिरामी हुँदा उपचारका लागि कोल्टीमा आउने गरेका यहाँका दुर्गम गाउँबस्तीका स्थानीयलाई ब्लड बैङ्क तथा अक्सिजन प्लान्ट नहुँदा उपचारमा समस्या हुने गरेको छ । 

यहाँको बुढीनन्दा नगरपालिकाले यो अस्पतालमा पछिल्लो समय औषधी र कर्मचारी व्यवस्थापन गर्दै आएको भए पनि ब्लड बैङ्क तथा अक्सिजन प्लान्टको भने अझै निकै अभाव हुने गरेको कोल्टी अस्पतालले जनाएको छ । मुगुको सदरमुकाम टाढा पर्छ । त्यहाँभन्दा यता नजिक पर्छ । त्यसैले उपचारका लागि कोल्टीमा आउने गरेको मुगुको खत्याडकी स्थानीय सुम्मी रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलेका भन्दा अहिले यहाँ उपचार पनि राम्रो हुन्छ । पहिला भिडियो एक्सरे गर्न बाहिर जानु पथ्र्यो । अहिले त्यो सबै सेवा यतै पाइन्छ । त्यसका लागि बाहिर जानु परेको छैन ।” कहिलेकाहीँ रगतको कमी भएका बेला रगतको आवश्यक पर्छ । ब्लड बैङ्क तथा अक्सिजन प्लान्टको व्यवस्था यतै भइदिएको भए निकै सहज हुने रोकायाले बताउनुभयो । स्वास्थ्य चौकीका रूपमा मात्र सञ्चालन भएको यो अस्पताल २०६३ सालदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हुँदै २०८० वैशाखबाट कोल्टी आधारभूत अस्पतालका रूपमा सञ्चालन भएको हो । 

आधारभूत अस्पताल सञ्चालन गरेसँगै अहिले यहाँका दुर्गमका स्थानीयलाई उपचारमा निकै सहज भएको अस्पताल प्रशासन सहायक इन्द्र सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलेभन्दा अहिले नगरपालिकाले व्यवस्था गरेपछि यहाँ आउने गरेका बिरामीले औषधी, ल्याब, भिडियो एक्सरेलगायतमा राम्रो सेवा पाउन थालेका हुन् ।” यहाँको मुख्य समस्या भनेको ब्लड बैङ्क तथा अक्सिजन प्लान्टको हो । यसका लागि प्रदेश तथा सङ्घीय सरकारले केही सहयोग गरिदिने हो भने यहाँ आउने बिरामीले उपचारका लागि बाहिर जानु पर्दैन । अहिले कोल्टी अस्पतालमा एक दिनमा दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् । त्यसमा दर्जनौँभन्दा बढी गर्भवती र सुत्केरी महिला आउने गरेका छन् । यहाँ ब्लड बैङ्क तथा अक्सिजन प्लान्ट नहुँदा उनीहरूलाई उपचार गर्न निकै समस्या हुने गरेको सुनारले बताउनुभयो ।

विशेष खालको उपकरण नभएकाले आवश्यक उपकरण चाहिने बिरामीलाई भने सेवा दिन समस्या भएको कोल्टी आधारभूत अस्पतालका प्रमुख डाक्टर रञ्जित शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपचारका लागि यहाँ आउने गरेका बिरामीलाई कहिले रगतको अति आवश्यक पर्छ । यहाँ ब्लड बैङ्क तथा अक्सिजन प्लान्टको व्यवस्था छैन । त्यो नहँुदा त्यस्ताखाले बिरामीलाई अन्य ठाउँमा रिफर गर्न बाध्य हुन्छौँ ।” यहाँ अस्पतालमा ब्लड बैङ्क तथा अक्सिजन प्लान्टकोे राम्रो व्यवस्था हुने र अन्य दुई, चार जना डाक्टर हुने हो भने यहाँ आउने गरेका बिरामीले उपचारका लागि बाहिर जानु नपर्ने शाहले बताउनुभयो ।