जेरुसेलम, भदौ ४ गते । इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति दिनु भएको उहाँको मन्त्रालयले बुधबार पुष्टि गरेको छ । उहाँले यो योजनालाई पूरा गर्न करिब ६० हजार जगेडा सैनिकलाई बोलाउने अनुमति दिनुभएको छ ।
एक प्रवक्ताले एएफपीलाई पुष्टि गरेअनुसार रक्षामन्त्री काट्जको यो कदम गाजामा झन्डै दुई वर्षदेखि चलिरहेको युद्धमा युद्ध विरामका लागि दबाब दिइरहेका मध्यस्थकर्ताको पछिल्लो प्रस्तावमा आधिकारिक इजरायली प्रतिक्रियाको प्रतीक्षा भइरहेका बेला आएको हो । मध्यस्थ कर्ता कतारले पछिल्लो प्रस्तावमा सावधानीपूर्वक आशावाद व्यक्त गरेको भए पनि एक वरिष्ठ इजरायली अधिकारीले सरकार कुनै पनि सम्झौतामा सबै बन्धकको रिहाइमा अडिग रहेको स्पष्ट पारेका छन् ।
हमासले स्वीकृत गरेको ढाँचामा प्रारम्भिक ६० दिनको युद्धविराम, चरणबद्ध बन्धकको रिहाइ, केही प्यालेस्टिनी कैदीको रिहाइ तथा गाजामा सहायताको प्रवेशका लागि अनुमति दिने प्रावधान समावेश गरिएको छ । इजरायल र हमासबिच युद्धभरि अप्रत्यक्ष वार्ता हुँदै आएको छ । वार्ताका क्रममा प्यालेस्टिनी कैदीको बदलामा इजरायली बन्धकको रिहाइ भएको थियो ।
पछिल्लो युद्धविराम प्रस्ताव इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेपछि आएको हो । यसले पहिले नै विनाशकारी भइसकेको मानवीय सङ्कटलाई अझ गम्भीर बनाउने चिन्ता व्यक्त गरिएको छ । संयुक्त राज्य अमेरिकाको समर्थनमा कतार र इजिप्टले शटल कूटनीति (प्रत्यक्ष छलफल गर्न अनिच्छुक दुई वा दुईभन्दा बढी पक्षबिच यात्रा गर्ने मध्यस्थकर्ताद्वारा गरिने वार्ता) को बारम्बार चरण मध्यस्थता गर्दै आएका छन् ।
कतारले पछिल्लो प्रस्ताव इजरायलले सहमति जनाइसकेको अघिल्लो संस्करणसँग ‘लगभग समान’ रहेको बताएको छ भने इजिप्टले सोमबार ‘अब बल इजरायलको कोर्टमा छ’ भन्दै टिप्पणी गरेको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस योजनाबारे सार्वजनिक टिप्पणी गर्नुभएको छैन, तर गत हप्ता मात्र उहाँले आफ्नो देशले ‘सबै बन्धकलाई एकैचोटि र युद्धको अन्त्यका लागि आफ्ना सर्तअनुसार रिहा गर्ने सम्झौता’ स्वीकार गर्ने बताउनुभएको थियो ।
हमासका वरिष्ठ अधिकारी महमुद मर्दावीले सामाजिक सञ्जालमार्फत आफ्नो समूहले ‘सम्झौतामा पुग्ने सम्भावनाका लागि ढोका फराकिलो खोलेको’ बताउनुभयो तर नेतान्याहुले विगतमा जस्तै यसलाई फेरि बन्द गर्ने सम्भावनाबारे प्रश्न उठाउनुभयो ।
-सेतो सुन-
नेतान्याहुले देशभित्र र विदेशमा बढ्दो दबाबको सामना गरिरहेका बेला यो प्रस्ताव आएको हो । गाजामा मङ्गलबार इजरायली आक्रमण र गोली हानाहानका कारण ४८ जनाको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरको जाइटाउन र साब्रा क्षेत्रमा अवस्था ‘धेरै खतरनाक र असहनीय’ भएको बताउनुभयो । त्यहाँ ‘गोलाबारी निरन्तर जारी’ रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
इजरायली सेनाले भने केवल ‘हमासको सैन्य क्षमतामा आक्रमण भइरहेको’ र ‘नागरिक क्षति कम गर्न सम्भव सावधानी अपनाइएको’ भन्दै विशेष सेनाको गतिविधि बारे टिप्पणी गर्न अस्वीकार गरेको छ । सेनाले पछि खान युनिसमा रातभर हमासका लडाकूलाई लक्षित गरी आक्रमण गरिएको जानकारी दियो ।
गाजामा मिडिया प्रतिबन्ध र प्यालेस्टिनी क्षेत्रमा पहुँच गर्न कठिनाइका कारण एएफपीले नागरिक सुरक्षा एजेन्सी वा इजरायली सेनाले दिएको तथ्य स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन । मङ्गलबार उत्तरी गाजाको जिकिम क्षेत्रमा एएफपीका एक पत्रकारले प्यालेस्टिनीलाई भग्नावशेष र क्षतिग्रस्त भवनबिचको धुलोले भरिएको सडकमा खाद्यान्न सहयोगका बोरा बोकेर हिँडिरहेको देखेका थिए ।
गजन सोग अल-बदरीले आफ्नो परिवारको पालमा ‘सेतो सुन’ भनिने पिठो पुर्याउन ‘तीनदेखि चार घण्टा’ लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो झोला सारा संसारको लायक छ ।” एएफपीको आधिकारिक तथ्याङ्कअनुसार, सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश नागरिक थिए ।
त्यसको जवाफमा इजरायली आक्रमणमा कम्तीमा ६२ जहार ६४ प्यालेस्टिनीको मृत्यु भएको छ । तीमध्ये अधिकांश सर्वसाधारण रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको छ । रासस/एएफपी