• १० भदौ २०८२, मङ्गलबार

थप नाका खोल्न माग

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ४ गते । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले नेपाल–चीन व्यापार सहजीकरण लागि चीनतर्फका थप नाका खोल्न माग गरेको छ । बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा बर्सेनि बन्द हुने गरेकाले चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न सङ्घले माग गरेको हो । 

गत २४ असारमा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट मानिस र व्यापारिक सामानको आवागमन ठप्प भएको छ । बाढीपहिरोकै कारण सिन्धुपाल्चोकको तातोपानी नाका पनि दुई सातादेखि अवरुद्ध छ । प्राकृतिक प्रकोपका कारण अकस्मात नाका बन्द हुँदा नेपालका लागि आयात भएका मालसामान बोकेका सयौँ कन्टेनर र ट्रक बाटामै अलपत्र परेका छन् ।

चीनसँगको आयातनिर्यात सहज बनाउन अन्य नाका खोल्नु जरुरी रहेकाले कूटनीतिक पहलमार्फत ती नाका अविलम्ब सञ्चालनमा ल्याउन र अन्य वैकल्पिक नाकामा पूर्वाधारको व्यवस्था गर्न सङ्घले सरकारलाई आग्रह गरेको छ । व्यवस्थापिका संसद्को विकास समितिले २०७२ सालमै उत्तरी नाकाको अवस्था अध्ययन गरी कोरला र ओलाङचुङ्गोला नाका सञ्चालनमा ल्याउन सकिने सुझाव दिएको थियो । 

नेपाल र चीन सरकारका उच्च अधिकारी एक दशकअघि नै द्विपक्षीय छलफलमा सात वटा उत्तरी नाका खोल्न सहमत भएका थिए ।  ती नाकामा तातोपानी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङ्गोला, मुगुको आम्जापास, हुम्लाको यारी हिल्सा र गोरखाको लार्के थिए । 

कोरला नाका १२ र्मिना नै सञ्चालन गर्न सकिने अवस्थामा छ । कोरला नाकामा चीनतर्फ पूर्वाधार पनि तयार छ । नेपालतर्फ पनि कोरालासम्म सडक पुगिसकेको छ । ताप्लेजुङको ओलाङचुङ्गोला नाकाबाट पनि दुई मुलुकबिचको व्यापार सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा तातोपानीबाट ५० अर्ब रुपियाँभन्दा बढीको र रसुवागढी नाकाबाट ८५ अर्ब रुपियाँभन्दा बढीको सामान आयात भएको छ ।