• ४ भदौ २०८२, बुधबार

जलनविरुद्धको सचेतना जगाउने भिडियो सार्वजनिक

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, भदौ ३ गते । जलनविरुद्धको सचेतना जगाउन गीति भिडियो  ‘दिपक’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक समारोहबिच सो भिडियो सार्वजनिक गरिएको हो । जलनले नित्म्याएका समस्यालाई गीतमा प्रस्तुत गरिएको छ । 

जलनपछि गर्ने प्रारम्भिक उपचारदेखि जलन पीडितको भविष्यसम्म आइपर्ने समस्यालाई गीतमार्फत प्रस्तुत गरिएको छ । जलनले एक व्यक्ति मात्र नभएर सिंगो परिवार र समाज नै पीडित बन्ने सन्देश दिँदै सचेत रहन गीतमार्फत आव्हान गरिएको छ । 

जलनविरुद्धको अभियनता तथा ‘दिपक’ का सल्लाहकार उज्ज्वलविक्रम थापाले जलनको समस्याप्रति राज्य अनुदार बनेको अनुभव पोख्नुभयो । बिरामीको उपचार सहयोगमा निरन्तर सक्रिय रहेका थापाले भन्नुभयो,  ‘जलनको उपचार गराउन मन्त्री, नेता, मेयर, पालिका अध्यक्ष र वडाध्यक्षहरु फोन गर्न जान्छन्, उपचार खर्चका लागि बजेट छ्ट्याउन जाँन्दैनन् ।’ अभियनता थापाले जलनविरुद्धको यो गीति भिडियोको पहिलो श्रृंखला भएको भन्दै अब निरन्तर भिडियो बनाउने जानकारी दिनुभयो । 

सो समारोहमा जलनपीडितहरुको समेत उपस्थिति थियो । भिडियो हेरेपछि जलन पीडितहरु आफ्नै कथाजस्तो लागेको बताएका थिए । जलनपीडित समेत रहेका प्रतिनिधिसभा सदस्य बिन्दबासिनी कंसाकारले आफूलाई भिडियोले भावुक बनाएको भन्दै सचेतना जगाउन सफलताको शुभकमना दिनुभयो । 

सो भिडियो रमेश केसीको निर्देशन तथा निर्माणमा बनेको हो । भिडियोमा कलाकारहरु सुस्मिता ग्वाबा तामाङ, समर्पण लामा र नोर्बु तामाङले अभिनय गरेका छन् । भिडियोमा अभियनता थापा र कीर्तिपुर अस्पतालका चिकित्सक डा. शंकरमान श्रेष्ठको समेत अभिनय रहेको छ ।