ठाकुरप्रसाद आचार्य
म्याग्दी, भदौ ३ गते । बेनीमा परम्परागत रुपमा देखाउँदै आएको घोडा नाच प्रदर्शन गरिएको छ । नेवार समुदाका युवाहरुको सक्रियतामा बर्खेनाच अन्तर्गत मंगलबार घोडा नाच प्रदर्शन गरेका हुन् । नेवारी समुदायको सांस्कृतिक पहिचानका रुपमा घोडा नाचलाई लिने गरिन्छ ।
नेपाल भाषा मंकाःखलः अन्तर्गतको ल्याम्हः पुचःमा आवद्ध भएका युवाहरुको सक्रियतामा घोडा नाच प्रदर्शन गरिएको अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बेनीमा घोडा नाच नेवार समुदायको मौलिक संस्कृतिका रुपमा रहेको छ । सांस्कृतिक पहिचानको रुपमा रहेको घोडा नाचको संरक्षण र पुस्तान्तरणका लागि हामीले नाच प्रदर्शन गर्दै आएका छौं ।’’
एकजना घोडाको भेषमा र अर्को एकजना गोठालो भएर संगीतको तालमा यो नाच नाच्ने गरिन्छ । बजारमा घोडा नाच देखाएपछि हेर्नेको निकै भिड लाग्ने गर्दछ । घोडा नाच देखाउँदै बजार परिक्रमा गर्ने प्रचलन छ । हरितालिका तीजसम्म नेवारी समुदायका मौलिक नाचहरु प्रदर्शन गर्ने कार्यक्रम रहेको ल्याम्हः पुचःका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।