नवीनराज कुइँकेल
लमजुङ, भदौ ३ गते । ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स ट्रेल’ मा पदयात्रा गर्ने पर्यटकका लागि चार वटा धर्मशाला निर्माण गरिएको छ । पदमार्गमा आउने पर्यटक, यस क्षेत्रमा पर्ने ताल तथा पोखरीमा स्नान तथा पूजा गर्न आउने तीर्थालुलाई लक्षित गरेर धर्मशाला निर्माण गरिएको हो ।
दोर्दी गाउँपालिका र स्थानीय क्लब तथा समूहहरु मिलेर चारवटा धर्मशाला निर्माण गरिएको हो । गाउँपालिकाले १२ लाख रुपियाँ खर्चेर चार हजार चारसय ५६ मिटर उचाइमा रहेको मेमे पोखरीमा धर्मशाला निर्माण गरेको छ ।
यो धर्मशालामा डेढसय जना अट्ने छन् । मेमे पोखरीमा दोर्दी गाउँपालिका –८, खिन्चोकको तमू कल्याण युवा क्लवले पनि ८० जना अट्ने धर्मशाला निर्माण गरेको छ ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पदमार्गका उच्च क्षेत्रमा पर्यटकलाई बासको आवश्यकता पर्ने भएकाले धर्मशालाहरु निर्माण गरिएको बताउनुभयो । धर्मशालासँगै पानीको व्यवस्थापन समेत गरिएको उहाँले बताउनुभयो । यसैगरी चार हजार मिटर उचाइमा रहेको क्रोम्रो डाँडामा पनि धर्मशाला बनाइएको छ ।
एकसय जना अट्ने धर्मशाला बनाउन ९ लाख रुपियाँ लगानी गरिएको छ । तीन हजार पाँचसय मिटर उचाइको मोलोम्चेमा ९ लाख खर्चगरी धर्मशाला निर्माण गरिएका छन् । यसमा ८० जना हाराहारी अट्छन् । तीन हजार एकसय पाँच मिटर उचाइको लिपेमा ७ लाख रुपियाँ खर्च गरी धर्मशाला निर्माण गरिएको छ । यहाँ ४० जना बस्न मिल्ने रहेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन हजार पाँचसय मिटर उचाइमा रहेको नोटाचे डाँडामा धर्मशाला निर्माण गर्ने तयारी गरेको छ । यहाँ अहिले पुराना गोठहरु छन् । तीन हजार ८० मिटर उचाइमा रहेको प्रशिद्ध बाह्रापोखरीमा यसअघि विभिन्न व्यक्ति, समूहहरुले धर्मशाला निर्माण गरेका छन् ।
यो पदमार्गका बिचमा भेडीगोठहरु छन् । भेडीगोठहरू सधैँ एकै ठाउँमा नबस्ने भएकाले धर्मशाला निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । यो पदमार्ग घुम्न लमजुङको बेसींसहर नगरपालिका, मस्र्याङ्दी गाउँपालिका र दुधपोखरी गाउँपालिकाबाट जान आउन सकिन्छ ।
यस्तै, गोरखाबाट पनि जान आउन सकिन्छ । दोर्दी गाउँपालिका केन्द्र नौथर शेराबाट सुरु गर्दा पहिलो दिन जोर्ने, दोस्रो दिन लिपे, तेस्रो दिन नोटाचे, चौथो दिन म्लोम्चे, पाचौं दिन उखण्ड, छैटौं दिन मेमे पोखरी पुगेर सातौं दिन कोम्रो डाँडा, आठौं दिन बाह्रपोखरी, नवौं दिन हिलेटक्सार भएर गन्तव्यमा जान सकिन्छ । बाह्रापोखरीबाट मस्र्याङ्दी गाउँपालिका वा बेसींसहर नगरपालिका वा दोर्दी गाउँपालिका भएर गन्तव्यमा पनि जान सकिन्छ ।
यो पदमार्गमा पर्ने जोर्ने र हिलेटक्सारमा मानवबस्ती छ । उखण्डमा धर्मशाला छ । चक्रीय अन्नपूर्ण पदमार्गको विकल्प खोजिरहेको बेला ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक ट्रेल’ पहिचान गरिएको हो । यसभित्र पनि ३–४ दिनमा पूरा गर्न सकिने ‘लिपे लेक’ सहितका अन्य पदमार्गहरू छन् । यी पदमार्गहरु दुवैतर्फबाट यात्रा गर्न सकिने गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।