• ३ भदौ २०८२, मङ्गलबार

संसद भवनको निर्माण कार्य ढिलाईमा उपप्रधानमन्त्री सिंहको चासो

blog

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह ।

कामठाडौँ, भदौ ३ गते । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद भवन निर्माणको काम कार्यतालिकाअनुसार गर्न निर्देशन दिनुभएको छ ।  

निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले मङ्गलबार मन्त्रालयमै बोलाएर निर्माण कम्पनीलाई यस्तो निर्देशन दिनुभएको हो । 

सिंहदरबारभित्र निर्माणाधिन संसद भवनमा संसदिय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिकको चासो जोडिएको चन्दै उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘‘ कुनै हालतमा काम हुनैपर्छ । समन्वयात्मक रूपमा अघि बढुनुहोस् । कन्ट्राक्टरले दिएको कार्यतालिका बमोजिम काम गर्नुहोस् ।’’

उहाँले संसद भवनकै कारण मन्त्रालयको पर्फमेन्समा प्रशन उठेको भन्दै केही समस्या परे मन्त्रालयले समन्वय गर्ने भन्दै काममा आलटमल स्वीकार्य नहुने पनि बताउनुभयो । 

सिंहले निर्माण कम्पनीलाई  नियमित प्रगति विवरण पेश गर्न र भवन विभागलाई कामको नियमित अनुगमन गर्न  निर्देशन पनि लिदनुभयो । बैठकमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, विशेष भवनका आयोजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीको सहभागिता थियो ।

बैठकमा विशेष भवन आयोजना प्रमुख सहसचिव सुनिल ठाकुरले निर्माणाधीन संसद भवनको हालसम्मको प्रगति र अवस्था बारेमा जानकारी गराउनुभयो । 

साइट वरिपरि बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटेरीको काम, आन्तरिक सजावटको, कन्फरेन्सिङ काम लगायतका कामहरू बाँकी रहेको उहाँले बताउनुभयो । 

निर्माण व्यवसायीले आवश्यक भन्दा न्यून कामदार लगाएको र काम बाँडेर हरेक दिनको काम गर्ने तालिका दिएको तर त्योअनुसार काम नगरेको भन्दै असन्तुष्टि जनाएका थिए। निर्माण व्यवसायीले धेरै काम सम्पन्न भइसकेको भन्दै तालिकाअनुसार काम अघि बढाउन प्रतिवद्द रहेको पनि बताए । संसद भवनको पुस अन्तिम सातासम्म निर्माण सम्पन्न गर्ने म्याद छ ।