• ३ भदौ २०८२, मङ्गलबार

'सूचनाको हक छ तर नागरिकले पाउँदैनन्'

blog

जिल्ला प्रशासन कार्यालय मुगुको बैठक हलमा १७ औं सूचना दिवसमा सरोकारवालाहरू । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, भदौ ३ गते । जिल्लामा आज १७ औँ राष्ट्रिय सूचना दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय मुगुको सहजीकरणमा कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला प्रमुख अधिकारी कमलप्रसाद पाण्डेका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ कार्यान्वयनमा आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाइँदै आएको छ ।

१७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगको ऐन अनुसार जिल्लाका नागरिकलाई सहजै सूचनाको हक कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मुगुले सूचनाको हक कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्न गराउन सार्वजनिक निकायलाई आह्वानसमेत गरेको छ ।

सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न गराउन सार्वजनिक निकायको भूमिका महत्त्वपूर्ण हुने र माग गरिएको सूचना सहज रूपमा प्राप्त गर्दा सार्वजनिक निकायप्रति नागरिकको धारणा सकारात्मक हुने प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ । 

यता नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुर मल्लका अनुसार राष्ट्रिय सूचना आयोगको निर्देशिका अनुसार सार्वजनिक निकायमा नागरिकले सूचना माग गरेको खण्डमा सहजै सूचना उपलब्ध गराउनुपर्ने ऐनमा व्यावस्था छ । तर जिल्लाका नागरिकको गुनासो अनुसार यहाँका पालिका र केहि सरकारी कार्यालयबाट सूचनाको हक अनुसार सुचना उपलब्ध नभएको नागरिकहरूको गुनासो आएको उहाँले बताउनुभयो ।

नागरिकको महत्त्वपूर्ण अधिकारका रूपमा सूचनाको अधिकारलाई ग्यारेन्टी गर्ने सूचनाको हकसम्बन्धी कानुन निर्माण भएको १६ वर्ष पूरा भए पनि नागरिकले जुन रूपमा अधिकारको व्यापक प्रयोग गर्नुपर्ने हो त्यसो हुन नसकेको मल्लको भनाइ छ ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्रहरी नायब उपरीक्षक सरोज गिरी, नागरिक समाज, पत्रकार त्यसैगरी जिल्लाका सरोकारवाला निकायका सूचना अधिकारीहरू उपस्थिति रहेको थियो ।