काठमाडौँ, भदौ ३ गते । विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानुकुल, वैज्ञानिक र प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जनका लागि तयार पारेको समीक्षा प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा उक्त प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेललाई हस्तान्तरण गरिएको हो।
स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले उक्त प्रतिवेदन तयार पारेको हो।
प्रतिवेदनले कक्षा १ देखि १२ सम्मको वर्तमान स्वास्थ्य पाठ्यक्रमको विस्तृत समीक्षा गर्दै बदलिँदो जीवनशैली, स्वास्थ्य चुनौती र राष्ट्रिय स्वास्थ्य नीतिलाई समेट्ने गरी पाठ्यक्रममा सुधारका लागि सुझाव सिफारिस गरेको छ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकलाई स्वस्थ जीवनशैलीको बानी विकास गर्ने पहिलो आधार र जग विद्यालय शिक्षा भएको बताउँदै स्वास्थ्य र शिक्षा मन्त्रालयबिचको समन्वयले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँ भन्नुहुन्छ, “स्वास्थ्य केवल अस्पतालमा उपचार गर्ने विषय मात्र होइन, यो हरेक घर र विद्यालयबाट सुरु हुने चेतना हो। हाम्रा बालबालिकालाई सानै उमेरदेखि सही स्वास्थ्य जानकारी दियौं भने उनीहरू आफ्नो र आफ्नो परिवारको मात्र होइन, सिङ्गो समाजकै स्वास्थ्यका लागि ‘चेन्ज एजेन्ट’ बन्न सक्छन् ।”
मन्त्री पौडेलले शिक्षा मन्त्रालयसँगको यो समन्वयले स्वस्थ र जिम्मेवार नागरिक बनाउने हाम्रो राष्ट्रिय लक्ष्यमा महत्त्वपूर्ण योगदान पुऱ्याउने अपेक्षा गर्नुभएको छ ।
प्रतिवेदन ग्रहण गर्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले स्वास्थ्य मन्त्रालयको अग्रसरताको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य जस्तो प्राविधिक र संवेदनशील विषयमा सम्बन्धित मन्त्रालयबाटै प्राप्त भएका सुझावहरू हाम्रा लागि अत्यन्त मूल्यवान छन् ।”
प्रतिवेदन तयारीका क्रममा स्वास्थ्य तथा शिक्षा मन्त्रालयका विभिन्न निकाय, विश्वविद्यालय, अभिभावक महासङ्घ, युनिसेफ लगायतका संयुक्त राष्ट्रसङ्घीय एजेन्सी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग समेत राय-सुझाव सङ्कलन गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले जानकारी दिनुभयो ।