• १२ असोज २०८१, शनिबार

सांसदको घर अगाडि राखिएको तारजडित कुकर खाली

blog

दमक, असार १० गते । नेकपा एमाले झापाका अध्यक्ष एवं संविधान सभा सदस्य दीपक कार्कीको गौरादहस्थित घरको गेटमा तार जोडेर राखिएको प्रेसर कुकर ‘होक्स’ रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे ५ बजे कार्कीको घर अगाडि तार जोडिएको प्रेसर कुकर भेटिएपछि त्यहाँ तत्काल प्रहरी पुगेको थियो ।

कुकर बम जस्तो देखिने शङ्कास्पद वस्तु देखिएपछि तत्काल नेपाली सेनाको बम डिस्पोजल टोलीसँग समन्वय गरेर सोही टोलीले उक्त प्रेसर कुकर डिस्पोज गर्दा केही पनि विस्फोटक पदार्थ नपाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

तार जोडिएको कुकर खाली रहेछ, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरिक्षक दिलीप गिरीले बताउनुभयो । प्रहरीले बिहानैदेखि प्रेसर कुकर रहेको स्थल आसपास घेरा हालेर सुरक्षा दिएको थियो ।

तर्साउने उद्देश्यले पुरानो प्रेसर कुकरमा तार जोडेर घर अगाडि राखिएको हुनसक्ने प्रहरीको भनाइ छ । यस घटनाको विषयमा गम्भीर रुपमा अनुसन्धान शुरु गरेका छौ, गिरीले भन्नुभयो ।

प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आफूहरुको घर अगाडि तारजडित प्रेसर कुकर राख्नेको पहिचान गरेर छिटो कार्वाही प्रक्रिया प्रशासनले शुरु गर्नुपर्ने बताउनुभएको छ ।

Author

विष्णुप्रसाद पोखरेल