• ११ भदौ २०८२, बुधबार

२५ घण्टापछि सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक सुचारु

blog

सुचारु भयो सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, भदौ १ गते ।
पहिरोका कारण शनिबार बिहानबाट अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी– दक्षिणकाली – फर्पिङ सडक डाइभर्सन बनाएर सुचारु गरिएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित ज्यामिरेमा पहिरो खसेर अवरुद्ध बनेको सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक २५ घण्टापछि डाईभर्सन बनाएर सुचारु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले अहिले अस्थायी रुपमा डाइभर्सन बनाएर सवारीको आवागमनमा सुचारु गरिएको जानकारी दिनुभयो ।

उहाँले दुई वटा डाेजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको भन्दै ठुलो पहिरो आएको र सडकमा क्षति पुगेकाले पहिरो पन्छाएर सडक पूर्ववत सुचारु गर्न समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आइतबार बिहान १०ः३० बजेबाट डाइभर्सन को ब्यवस्था मिलाई सवारी साधन आवतजावत सुचारु भएको छ ।’’

पहिरो गएको स्थान प्रहरी चौकी मकवानपुरबाट चार किमि पश्चिममा छ । सडक खण्डमा माटो, ढुङ्गासहितको सुक्खा पहिरो खसेर उक्त सडकमा सवारी आवागमनमा अवरोध भएको र पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।