• २ भदौ २०८२, सोमबार

फरक इजरायल

blog

केही त्रास, बढी उत्सुकतासाथ दुबई हुँदै साँझ साढे ६ बजे तेलअभिभको नयाँ विमानस्थलमा ओर्लियौँ । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित र नेपालका लागि इजरायलका पूर्वराजदूत खनान गोडारसँग भेटपछि हाम्रो यात्रा जेरुसेलमतर्फ मोडियो ।  इजरायल २२ हजार १४५ वर्ग किलोमिटरमा फैलिएको छ । मध्यपूर्वको यो देश पूर्वमा जोर्डन, उत्तरमा लेबनान, उत्तरपूर्वमा सिरिया, पश्चिमदक्षिणमा इजिप्टसँग जोडिएको छ । पश्चिममा भूमध्यसागर रहेको छ । सी अफ ग्यालिली यसै क्षेत्रमा पर्छ । मृतसागर जोर्डनसँगको सिमानामा पर्छ । 

दुई हजार वर्षअघिदेखिको यहुदीहरूको कला र सभ्यतालाई रोमन साम्राज्यले कब्जामा लिएर शासन थालिएको इतिहास पाइन्छ । त्यतिबेलादेखि नै यस क्षेत्रमा विभिन्न देशबिच जित र हारको उतारचढाव र तनाव रहेको पाइन्छ । एक जाति वा धार्मिक वर्गले सकेसम्म अर्को जाति वा वर्गको अस्तित्व नै मेटाउने किसिमका युद्ध र नरसंहारको साक्षी यो भूभाग बन्दै आएको छ ।

सन् १९४८ मे १४ का दिन जुइज एजेन्सीका प्रमुख डाभिड बेन गुरिअनले इजरायललाई एउटा छुट्टै देशका रूपमा घोषणा गरेपछि तत्कालीन अमेरिकी राष्ट्रपतिले हेयारी एस ट्रुमानले सोही दिन यसलाई मान्यता दिएका थिए । त्यसअघिसम्म यो भूभाग लिग अफ नेसन्सको म्यान्डेटका आधारमा ब्रिटिसको अधीनमा रहँदै आएको इतिहास पाइन्छ । नेपालले यो स्वतन्त्र मुलुकको पूर्ण समर्थन गरेको थियो । त्यस समय नेपालका प्रधानमन्त्री बिपी कोइराला हुनुहुन्थ्यो । इजरायल र नेपालबिच १ जुन, १९६० मा दुई देशबिच द्विपक्षीय सम्बन्ध स्थापित भएको थियो । 

इजरायलले यहुदी विरासतसहितको एउटा छुट्टै स्वतन्त्र देशका रूपमा उदाउने प्रयास गरेदेखि नै अस्तित्व जोगाउन निकै ठुलो चुनौतीको सामना गर्दै आएको छ । यसले आफूलाई आर्थिक रूपमा सम्पन्न बनाउँदै, सामरिक रूपमा सुदृढ पार्दै, अत्याधुनिक सुरक्षा प्रविधिको विकासमा विश्वमा नै अब्बल साबित हुन प्रयासरत देखिन्छ । करिब एक करोड जनसङ्ख्या रहेको इजरायलले खोज, अनुसन्धान नवप्रवर्तनका माध्यमबाट मरुभूमिलाई हरितकण गर्दै कृषिक्षेत्रमा अतुलनीय सफलता हासिल गरिरहेको देखिन्छ । जम्मा पाँच प्रतिशत जनसङ्ख्या कृषिमा लाग्दा देशको आवश्यकता मात्रै पूर्ति भएकै छैन उत्पादनको ठुलो हिस्सा निर्यातबाट समेत गर्दै आएको छ । सुरक्षा खर्चमा बजेटको ठुलो हिस्सा खर्च भए पनि देशको आर्थिक वृद्धिदर हासिलमा खासै कमी नआएको अर्थशास्त्री ओडेड डिस्टेलले बताए । 

पिरिस सेन्टरमा पुग्दा  

शान्तिका लागि नोबेल पुरस्कार विजेता इजरायलका नवौँ राष्ट्रपति सिमोन पिरिसले सोच र परिकल्पना स्थापित पिरिस सेन्टर पुग्दा हामी थप अचम्भित भयौँ । मध्यपूर्वमा शान्ति स्थापना गर्ने सकिने सोचसाथ स्थापना गरिएको सेन्टर नवप्रवर्तनकारीलाई दिएको अवसर र त्यसका उपलब्धिका विषय बुझ्ने अवसर मिल्यो । बाँकी विश्वले जस्तो पूर्वतिर होइन पूर्वबाट पश्चिमतर्फ पठाइएका स्याटलाइट विकासको अवधारण होस् वा इजरायललाई सुरक्षित राख्ने आइरन डोमको विकासको अवधारणा विकास यही सेन्टरबाट भएको रहेछ ।   

माहुरीबिना कृषि सम्भव हुँदैन त्यसको रक्षा जरुरी छ भन्ने अवधारणाले विकास गरिएको माहुरीको घारदेखि, गाईपालनबिनै दुध उत्पादन गर्ने वा गाईको हत्या नगरी सानो कोस मात्र निकालेर मासुको उत्पादन गर्ने प्रविधि विकासमा यहाँका इनोभेसन सेन्टर अघि बढेको छ । यही सेन्टरमा विकास गरिएका चालकबिनाको बस सञ्चालन गर्ने प्रविधि, क्यान्सर रोग वा टाउकोको ट्युमर निकाल्न प्रयोग गर्न सकिने न्यानो घोस्टको विकास यहीँ भएको रहेछ । वित्तीय बजारमा विश्वव्यापी रूपमा नै प्रयोगमा आउन सक्ने फिनटेक प्रविधिको विकासको स्टार्टअप पनि यहीँबाट भएको पायौँ । यहाँ जुनसुकै पेसा व्यवसायका मानिसले आफ्नो नयाँ सोच र परिकल्पनालाई ल्याएर मूर्त रूप दिन सक्ने रहेछन् । 

इतिहास जोगाउन तनमन

भ्रमणकै क्रममा पुरानो जेरुसेलमको सताब्दिऔँ पुरानो सभ्यता र १० औँ किलोमिटरको भूमिगत सुरुङ अवलोकनको मौका मिल्यो ।

यो भूमिसँग यहुदी सभ्यताको साइनोलाई पुष्टि गर्ने बलिया आधार जोगाउन अधिकतम प्रयास गरेको देखियो । पुरानो जेरुसेलममा रहेका क्रिस्चियन क्वाटर, मुस्लिम क्वाटर, अरमेनिय क्वाटर र जुइस क्वाटर यस क्षेत्र ती सबै धर्मावलम्बीको आस्थाको केन्द्र बनेको स्पष्ट हुने रहेछ । टेम्पल माउन्टको पश्चिमी पर्खालमा सबै धर्मावलम्बीले पुगेर आआफ्नो आस्था र विश्वासका आधारमा प्रार्थना गर्ने र भगवान् पुकार्ने गरेको देख्दा इजरायलभित्र विकसित हुँदै गरेको धार्मिक सहिष्णुतालाई अनुभव गर्न सकिँदो रहेछ । यद्यपि टेम्पल माउन्ट हाल जोर्डन सरकारले रेखदेख गर्दै आएकाले भित्र पस्न भने पाइएन । त्यही टेम्पल माउन्टको जमिनमुनिको भागमा सदियौँ पुरानो सुरुङबाट नजिक पुग्न सकिने रहेछ । त्यहीँबाट यहुदीले आफ्नो धार्मिक आस्था र विश्वास व्यक्त गर्ने रहेछन् । जिसस क्राइस्टलाई झुन्डाइएको र समाधि स्थलमा पनि सबैको उत्तिकै आस्था र विश्वासको केन्द्र रहेको देखियो । 


तेलअभिभको वैभव पुरानो जेरुसेलमबाट निस्किएर तेलअभिभको वैभवताले हामीलाई फरक संसार र दुनियाँमा पु¥याए झैँ लाग्यो । प्रतिघण्टा एक सय किलोमिटरको वेगमा गुड्ने गाडीको रफ्तारले नै विकासको रफ्तारलाई पुष्टि गरे झैँ लाग्यो । दर्जनौँ ओभरपास, अन्डरपास, सुरुङमार्ग र चिल्ला सडकले मानिसको जीवनको गति कतिसम्म रहेछ भन्ने बुझ्न सजिलो भयो । राजधानीमा ठडिएका गगनचुम्बी भवनले त्यहाँको आर्थिक समृद्धितर्फको गतिलाई उजागर गरे जस्तो लाग्थ्यो । कहिल्यै ननिदाउने सहर भनेर उपमा पाएको तेलअभिभको रात्रि जीवनलाई देख्दा हो रहेछ भन्ने लाग्थ्यो । रात्रि जीवन हेर्न दुई/चार वटा क्लबनजिक पुग्दा लाग्यो आधा इजारायली त्यहीँ रमाइरहेका छन् । यद्यपि ती साताका अन्तिम दिन पनि थिएनन् । हाम्रा पथप्रदर्शक भन्दै थिए, “शुक्रबार र शनिबार त्यहाँ अझ बढी भिड हुन्छ ।” मध्यरातसम्म सेवा दिने मेट्रो बसले सहरलाई थप जीवन्त बनाएको पायौँ । युवालाई रोजगारीका लागि आफ्नो अनुकूल समय छनोटको अवसर प्रदान भएको पाइयो । 

दर्दको दृश्य

७ अक्टोबर, २०२३ मा इजरायलमा भएको घटनामा नेपालका विपिन जोशीलगायत ५० जना नेपाली हमासको कब्जामा परे । सिक्दै कमाउन त्यहाँको कृषि फार्ममा पुगेका १० नेपाली विद्यार्थी सो घटनामा मारिएका थिए । सो क्षेत्रमा पुग्दा हामी भावुक भयौँ । उनीहरूले सुकाएका कपडा र खाँदै गरेको खानाका प्लेट त्यतिकै छन् । भागाभागमा छरिएका जुत्ताचप्पल अझै लथालिङ्ग थियो । त्यतिकै हृदयविदारक दृश्य गोलान हाइटमा देखियो, जहाँ सिरियातर्फबाट आएको रकेटले फुटबल खेलिरहेका बालकहरू, बास्केटबल प्रतियोगितामा रमाइरहेका बालिकालाई क्षणभरमा नमेट बनाइदियो । 


इजरायलमा केयरगिभरमा काम गर्न ‘जिटुजी’ मार्फत गएका नेपाली युवा आफू सहज अवस्थामा रहेको बताउँछन् । काम गर्ने ठाउँ, त्यहाँको व्यवस्थापन र सेवा सुविधा निकै राम्रो भएको भन्दै नेपाल सरकारले पाँच वर्षको अवधिलाई बढाइदिए हुन्थ्यो भन्ने आग्रह उनीहरूको छ । त्यहाँ सिकेको सिपले आगामी दिनमा थप कमाइ गर्न सकिने अपेक्षा उनीहरूको छ । त्यहाँका निर्देशक गोहार राजले कामप्रति नेपालीको लगाव, मिलनसार, इमानदार स्वभाव र ज्येष्ठ नगारिकप्रतिको स्नेही भावले आफूहरू प्रभावित भएको बताउनुभयो । तथापि छनोट भएका एक हजार नेपाली समयमा नेपालले पठाउन नसक्दा त्यो कोटामा श्रीलङ्काली परेको सुन्दा दुःख लाग्यो । अबका दिनमा पुनः नेपाली कामदारलाई ‘जिटुजी’ मार्फत सुरक्षित मानिएको हेरचाह केन्द्रमा पठाउन प्रयास भइरहेको सुन्दा खुसी लाग्यो ।   

Author

राधा चालिसे