• २ भदौ २०८२, सोमबार

हिमाली पाटनमा बुकी ढकमक्क

blog

हिमाली क्षेत्रका पाटन रङ्गीबिरङ्गी बुकी फूलले यतिबेला ढकमक्क छन् । पाटनमा बर्सातको समयमा फुल्ने फूललाई बुकी फूल भन्ने गरिन्छ । स्थानीय बासिन्दाले हिमाली क्षेत्रको वृक्षरेखाभन्दा माथिको खुला घाँसे मैदानलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो । देशका अन्य हिमाली क्षेत्रको तुलनामा मध्यपश्चिमका बागलुङ र पूर्वी रुकुममा पर्ने पाटन चौडा, समथर र मलिला भएकाले यी पाटनमा रङ्गीबिरङ्गी बुकी फूल फुल्दा बढी आकर्षक र मनमोहक देखिने गरेको छ । ढोरपाटन र लालपाटन बुकी फूलका लागि बढी प्रसिद्ध छन् ।

बुकी फूल र चाडपर्व सम्बन्ध   

खाममगर समुदायले मनाउने स्थानीय चाडपर्व र मेला, जात्रासँग बुकी फूलको सम्बन्ध गाँसिएको छ । पूर्वी रुकुमका मगर बस्तीमा जेठ मसान्तदेखि असारको पहिलो हप्तासम्म मनाइने बल पूजा अर्थात् भुमे पर्वमा युवकयुवती फूल टिप्न हुल बाँधेर पाटनमा जाने गर्छन् । यसलाई फूल टिप्न जाने भनिन्छ । फूल टिप्न जानेले यसरी टिपेका बुकी फूल पाटनमा ठाउँ ठाउँका देउराली र वराहथानमा चढाउने गर्छन् । उनीहरू घर फर्कंदासमेत बुकी फूल टिपेर ल्याई आफ्ना पितृलाई चढाउने र मायाको चिनो एवं सगुनका रूपमा एकअर्कोलाई दिने गर्छन् । यहाँको लोकप्रिय भुमेनाचमा सबै बुकी फूलको नाम लिएर गीत गाउने र नाच्ने गरिन्छ । त्यसै गरी राँके सङ्क्रान्ति भनिने साउने सङ्क्रान्तिका दिन सबै प्रजातिका बुँकी फूललाई जम्मा पारेर लेक र गाउँका देवतालाई पुज्ने गरिन्छ । यस पूजामा राँके फूललाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने मान्यता रहेको छ । 

बुँकी फूलको सम्बन्ध उत्तरगङ्गा मेलासँग पनि जोडिएको छ । जनैपूर्णिमाको दिनदेखि १५ दिनसम्म लाग्ने यो मेला मगरात क्षेत्रको प्रमुख मेलामध्ये एक हो । ढोरपाटनलाई रङ्गीबिरङ्गी बुँकी फूलले ढकमक्क ढाकेर स्वर्ग जस्तै बनेको समयमा जनैपूर्णिमाको दिन पारेर उत्तरगङ्गामा बलि राजा प्रकट हुन्छन् भन्ने यहाँका खाममगर समुदायमा धार्मिक विश्वास रहेको छ । उत्तरगङ्गा मेला उनै राजाको स्वागत गर्न लाग्ने गरेको हो भन्ने लोककथन रहेको छ । यस मेलामा मगरात क्षेत्रका युवकयुवती मेला भर्न आउने गर्छन् । 

बुकी फूलका प्रजाति

ढोरपाटन र आसपासका पाटनमा पाइने बुकी फूलका प्रजातिको अध्ययन, अनुसन्धान र अभिलेखीकरण हुन थालेको छ । यसले बुकी फूलको नाम र त्यससँग सम्बन्धित परम्परागत ज्ञान संरक्षण गर्न सहयोग पुगेको छ । कतिपय बुकी फूलको नाम खाममगर भाषामा रहेको छ । खाममगर समुदायका गोठाला बुकी फूलबारे बढी जानकार भएकाले उनीहरूमा रहेको यस्तो ज्ञान नयाँ पुस्तामा पुस्तान्तरण गर्न आवश्यक छ । यहाँ फुल्ने फूलका प्रमुख प्रजाति बिजौरे फूल, रथबिरथ फूल, राँके फूल, बोक्सी फूल, दुधेमार्सी फूल, दहिठेकी फूल, मदाने फूल, काप्चुच्चे फूल, कप्टेरी फूल, कोपिला फूल, बटारे फूल, तारामण्डल फूल, अतिश फूल, मखमली फूल, हातेकल्ला फूल, सूर्यमण्डल फूल, रातो फूल, फट््याङ्ग्री फूल र चुम्री फूल आदि रहेका छन् । घाम लागेपछि दिनभर फव्रmने र रात परेपछि डल्लो पर्ने फूललाई चुम्री फूल भनिन्छ । फूलको रङका आधारमा चुम्री फूलको नामकरण गरेको पाइन्छ । चुम्री फूल पाँच वटा पत्र मिलेर गोलाकार भएर रहेका हुन्छन् । रातो फूल फुल्ने चुम्री फूललाई नाकेफुली फूल भनिन्छ । हल्का रातो रङको फूललाई पात्ले फूल वा पुतली फूल भनिन्छ । त्यसै गरी पहेँलो फुल्ने फूललाई प्याउली फूल भनिन्छ । निलो रङको फूल फुल्ने चुम्री फूललाई ओठफुटे फूल भनिन्छ । हिमाली क्षेत्रका पाटनको तल्लो भेगमा धेरै पाइने बुकी फूल बिजौरे फूल हो । माथिल्लो भेगमा पाइने बुकी फूल रथबिरथ फूल हो । बिजौरे फूल पहेँलो रङको हुन्छ । रथबिरथ फूल जति माथि गयो उत्ति नै रङ्गीबिरङ्गी फुल्ने गर्दछ । पाटनका दलदले सिमसार क्षेत्रमा राँके फूल र बोक्सी फूल धेरै फुलेको देखिन्छ । बर्सातको समयमा मात्रै फुल्ने यस्ता बुकी फूल बर्सातको समाप्ति र चिसो बढेसँगै सुक्न थाल्छन् । कतिपय बुकी फूलको औषधीय महìवसमेत रहेको छ । रुघाखोकी लागेमा अतिसका जरा खाने गरिन्छ । राँके फूलका जरा पखाला लागेमा खाने गरिन्छ । ओठ फुटेमा ओठफुटे फूलका पत्र चुँडेर लगाएपछि ओठ फुटेको सन्चो हुन्छ । मखमली फूलका जरा र गोरु जुधाउने झारको पात काटेको घाउकाको उपचारमा प्रयोग गरिन्छ । 

संरक्षणमा चासो

बुकी फूलप्रति आन्तरिक पर्यटकको आकर्षण बढेको छ । ढोरपाटन र आसपासका पाटनमा बुकी फूल अवलोकनकै लागि पर्यटकीय गतिविधि बढेको छ । प्रायः सबै जसो बुकी फूल मलिलो र चिस्यानयुक्त माटोमा हुर्कन्छन् । बुकी फूलको सम्बन्ध बर्सात र माटोको मलिलोपनसँग जोडिएको हुँदा लामो खडेरी पर्दाका वर्ष बुकी फूल राम्रोसँग फुल्दैनन् । पाटनमा चरनका लागि बर्सातको समयमा लगिने भेडीगोठ र गाईवस्तुका घुम्ती गोठले पाटनलाई मलिलो बनाई राख्न सहयोग पु¥याएका छन । चरिचरनले पाटनमा अनावश्यक झाडी फैलिन पनि दिँदैन । अहिले पाटनमा पाल थापेर क्याम्प राख्ने र गोठमा बास राख्नेको सङ्ख्या बढेको छ । यसले गर्दा प्लास्टिक फोहोर बढेर गएको छ । इन्धनका लागि चिमाल, धुपी र भोजपत्रको वन कटानी बढेको छ । यसले गर्दा भविष्यसम्म बुकी फूलको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा चासो बढेको छ । साथै पर्यटकले फालेको प्लास्टिक फोहोर खाएर भेडाबाख्रा मरेको भन्ने समाचार पनि आएका छन् । फोहोर र मानिसको चहलपहल बढेसँगै वन्यजन्तु संरक्षणमा पनि चुनौती थपिएको छ । बुकी फूलले शोभायमान पाटनलाई जोगाई राख्न चरिचरनलाई निरन्तरता दिनुका साथै फोहोरलाई उचित व्यवस्थापन गर्न आवश्यक छ । साथै बुकी फूल फुल्ने मुख्य मुख्य ठाउँलाई सीमाङ्कन गरी सूचना बोर्ड राख्ने र त्यहाँ पाल राखेर क्याम्प राख्न तथा जथाभाबी पर्यटक प्रवेश गर्न रोक लगाउनुपर्ने देखिएको छ । 

बुकी फूल र पर्यटन 

यतिखेर बुकी फूलले ढकमक्क ढाकेका बागलुङको ढोरपाटन र चौँरीखर्क, रुकुमपूर्र्वको सुनदह र लालपाटन, रोल्पाको जलजला जस्ता पाटनमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । विगतमा कुनै चहलपहल नहुने पाटन सामाजिक सञ्जालमा बुकी फूलका फोटा देखेसँगै पर्यटकीय गन्तव्यस्थल बनेका छन् । पाटनलाई बुकी फूलका साथै भेडीगोठले थप आकर्षण थपेका छन् । बुकी फूल र भेडाका बथानसँग रमाउन बर्सातको समयमा हिमाली पाटनमा घुम्ने संस्कृतिको विकास भएको छ । यसले गर्दा ढोरपाटन र आसपासका क्षेत्रमा घरबासका साथै गोठबास पर्यटनसमेत प्रवर्धन भएको छ । बुकी फूल र भेडीगोठ पर्यटकीय आकर्षण बनेका छन् । यसबाट यहाँको पर्यटन उद्योगलाई थप विविधीकरण गर्न सहयोग पुगेको छ । गोठबासले गर्दा दुध, दही, मही र स्थानीय खाद्य परिकारले बजार पाएका छन् । यसबाट गोठालाको आम्दानी बढेको छ र स्थानीय अर्थतन्त्रमा टेवा पुगेको छ ।    

Author

पशुपति अधिकारी