टोपलाल अर्याल
रेसुङ्गा, साउन ३१ गते । श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्रा तथा रोपाइँ जात्रा नगरपालिकाको सबैभन्दा ठुलो उत्सव हो । सोही अवसरमा भदौ १ गते रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
नगरका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीद्वारा जारी सार्वजनिक सूचनामा नगर कार्यपालिकाको बैठक निर्णय अनुसार उक्त दिन नगरपालिका कार्यालय, मातहतका वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, सहकारी संस्थालगायत सम्पूर्ण निकाय बन्द रहने उल्लेख छ ।
सदरमुकाम तम्घासको रोपाइँ जात्रा भव्य हुने भएकाले आम नगरवासीको सहज सहभागिता र कार्यक्रमको सफलताका लागि बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पल्लीले जानकारी दिनुभयो ।
संयुक्त तम्घासस्थान मन्दिर व्यावस्थापन समितिको अगुवाइमा श्रीकृष्ण जन्माष्टमीका दिन दिनभर तम्घासंस्थान मन्दिरमा पूजाअर्चना, भक्तिसंगीत र भोलीपल्ट श्रीकृष्णको रथ यात्रासँगै दिनभर रोपाइँ जात्रा र लाखे नाचसहितका झाँकी प्रदर्शन गरिने । नेवार समुदायले प्रदर्शन गर्ने लाखे नाच, रेसुङ्गा माध्यमिक विद्यालयका विद्यार्थीहरुको पञ्चेबाजा, विभिन्न धर्म र समुदाय अनुसारका भेषभुसासहित रापाइँ र प्रहसनहरु हुँदै आएको मन्दिर व्यवस्थापन समितिका सचिव ताराप्रसाद भुसालले जानकारी दिनुभयो ।
अहिलेसम्म रथ यात्रामा तम्घासस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राधा माधव समिति, सत्य साई केन्द्र, रक्त सञ्चार समूह, पतञ्जली योग समिति, पूर्व प्रहरी सङ्गठन, नेपाल स्काउट लगायतका दर्जर्ना संघ-संस्थाहरुले सहभागीता जनाउने गरेका छन् । मन्दिरबाट रथसहित जात्रा निस्किएपछि बजार घुमेर चिदिचौर पुगेपछि रोपाइँ गर्ने, नाचगान र प्रहसन हुन्थ्यो । तर चिदिचौर खेलमैदान भत्काएर भद्रगोल भएकाले रोपाइँ, नाचगान र प्रहसन कहाँ गर्ने अन्यौलता देखिएको छ ।
भुसालले भन्नुभयो, ‘‘मन्दिरबाट निस्किेर मन्दिरमै फर्किने अवस्था छ । जे गरेपनि बजारकै सडकमा गर्ने हो चिदिचौर भद्रगोल भएकाले गाह्रो भयो । ’’ यो पर्वकै लागि नगरले सार्वजनिक बिदा दिए पनि स्थानीय बाक्लो उपस्थिति नहुने अर्को समस्या छ । बिदा पाएका कर्मचारीहरु पनि घरमै बस्ने, नगरकै उत्सवको रुपमा मेलालाई सहयोग गर्ने प्रवृति कम देखिएको भुसालले बताउनुभयो ।