गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ३१ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गर्न लागेको जलवायु परिवर्तनको असर न्यूनीकरणसम्बन्धी राष्ट्रियस्तरको सम्मेलनमा सहभागी हुन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
जलवायु परिवर्तनको असरले कतै बाढी, पहिरो, कतै अतिवृष्टि त कतै वायु प्रदूषण जस्ता समस्याबाट स्थानीय तहका बासिन्दा पीडित बनेकाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न साझा ऐक्यबद्धता जनाउन सम्मेलन हुन लागेको हो ।
शुक्रबार मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै सम्मेलनमा सहभागी हुन आग्रह गरेको हो । मुस्ताङको घरपझोङ गाउँपालिकाले जोमसोममा आगामी भदौ ३१ गते देशैभरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई एकै ठाउँमा भेला गरी सम्मेलन आयोजना गर्न लागेको बताइएको छ । सम्मेलनको मूल नारा ‘स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी’ तय गरिएको छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सबै स्थानीय तहको साझा धारणा बनाउने उद्देश्यले एकदिने जनप्रतिनिधिको राष्ट्रियस्तरको सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । उक्त सम्मेलनमा सबै नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सहभागिता हुने जनाइएको छ । तराई, पहाड र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे राष्ट्रियस्तरमा साझा धारणा बनाउने र न्यूनीकरणका लागि सबै स्थानीय तहको ऐक्यबद्धता जुटाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको अध्यक्ष लालचनले स्पष्ट पार्नुभयो ।