गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ३१ गते । पुरातात्त्विक सम्पदाका रूपमा रहेको डडेलधुराको अजयमेरुकोट दरबार र दार्चुलाको उकुमा मन्दिरबारे खोज तथा अध्ययन जारी छ । विगत तीन वर्षदेखि पुरातत्त्व विभाग र स्थानीय सरकारको समन्वयमा विज्ञहरूले नयाँ तथ्य पत्ता लगाइराखेका छन् ।
तत्कालीन डोटी राज्यको राजधानी डडेलधुराको अजयमेरु गाउँपालिका–२ स्थित अजयमेरुकोट, हाटगाउँ र वरिपरिको क्षेत्रका दरबार, मन्दिर, नाउँला सभामण्डप, सुरुङलगायत संरचना फेला परेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो ।
“अजयमेरुकोटको मध्य भागको संरचना उत्खनन गर्दा १२१ वर्गमिटर चौडाइमा नौ कोठा उत्तर र पूर्वतर्फ प्रवेशद्वारसहितको ढोकाको संरचना फेला परेको छ,” उहाँले भन्नुभयो, “दरबारको उत्तर पश्चिमतिर कोठासँगै भ¥याङसमेत फेला परेकाले कम्तीमा दुईतले भवन हुन सक्ने अनुमान छ ।” उक्त दरबार जुम्लाको खस राज्यकालीन बेला स्वतन्त्र डोटी राज्य रूपमा विसं १४०९ तिरको हुन सक्ने प्रवक्ता कुँवरको अनुमान छ ।
पुरातत्व विभागले गत वर्ष १४ लाख र आगामी आर्थिक वर्ष १० लाख रुपियाँ विनियोजन गरेर खोज अनुसन्धान जारी राखेको प्रवक्ता कुँवरले बताउनुभयो । “इतिहासको खोज तथा अनुसन्धान कहिल्यै सकिँदैन । खोज्दै गर्दा कतिबेला नयाँ तथ्य र प्रमाण भेटिन्छ थाहा हुँदैन,” उहाँले भन्नुभयो, “अजयमेरुकोट दरबारको पर्याप्त खोज अनुसन्धान भएपछि तथ्य र प्रमाणका आधारमा सबै विवरण तयार भएपछि संरचना निर्माण हुने छ ।” उक्त दरबारको खोज अनुसन्धान पूरा भएपछि पर्यटन प्रवर्धनबाट पर्याप्त लाभ लिन सकिने उहाँको भनाइ छ । विभागले अनुसन्धान गर्न थालेपछि ११ सुझाव र राय दिएको छ ।
यसैबिच विभागले दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ उकुमा ऐतिहासिक मन्दिरको अध्ययन जारी राखेको छ । उकुमा क्षेत्रमा दरबार भनिए पनि ऐतिहासिक शिखर शैलीको मठमन्दिर भएको हुन सक्ने प्रवक्ता कुँवरले जानकारी दिनुभयो । विभागले दुई वर्षमा २६ लाख खर्च गरेर अनुसन्धान गरेको थियो भने आगामी आवका लागि १२ लाख रुपियाँ विनियोजन गरिएको छ । विगत तीन वर्षदेखि उकुमा क्षेत्रको खोज अनुसन्धान जारी भएकाले अझै समय लाग्ने देखिएको छ । उक्त क्षेत्रको भग्नावेशबाट १४/१५ शताब्दीको मठमन्दिर हुन सक्ने अनुमान गरिएको छ ।