• ९ भदौ २०८२, सोमबार

भारतले परमाणु धम्की सहन्न : मोदी

blog

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७९ औँ स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार लालकिल्लामा आयोजित विशेष समारोहमा सम्बोधन गर्नुहुँदै ।

 गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन ३१ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिन्धु सम्झौता अन्यायपूर्ण भएको भन्दै भारतीय कृषकको हकमा रगत र पानी सँगसँगै नबग्ने चेतावनी दिनुभएको छ । उहाँले भारत परमाणु धम्की नसहने पनि स्पष्ट गर्नुभयो । भारतको ७९ औँ स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नयाँदिल्लीको लालकिल्लामा सम्बोधन गर्दै मोदीले पाकिस्तानप्रति लक्षित गरेर अब त्यस्ता धम्की नसहने बताउनुभएको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ । 

‘अपरेसन सिन्दूर’ मा भारतीय सेनाले वीरतापूर्ण प्रदर्शन गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “भारतले अब यो तय गरिसकेको छ अब हामी न्युक्लियरको धम्की सहनेवाला छैनौँ । अब ब्ल्याकमेलिङ सहँदैनौँ ।” 

“भारतका नदीको पानीले दुस्मनको खेत सिञ्चित भएका छन् । भारतले अब के तय गरेको छ भने रगत र पानी सँगसँगै बग्दैन,” उहाँले चेतावनी दिनुभयो । पाकिस्तानका प्रधानमन्त्री र सेनापतिले हालै सिन्धु बाँध परमाणु हतियार प्रयोग गरी ध्वस्त पारिदिने चेतावनी दिनुभएको थियो । उहाँले शुक्रबार सार्वजनिक समारोहमार्फत त्यसको जवाफ दिनुभएको हो ।

भारतका नदीमाथि भारतीय किसानकै हक भएको उल्लेख गर्दै मोदीले भन्नुभयो, “यसमाथि हिन्दुस्तानका किसानको हक छ । सिन्धु सम्झौता एकतर्फी र अन्यायपूर्ण थियो । राष्ट्रहितको दृष्टिकोणले हेर्दा यो सम्झौता मञ्जुर छैन ।” आफ्नो सम्बोधनमा उहाँले भारत आतङ्कवादको सामना गरिरहेको उल्लेख गर्दै भन्नुभयो, “हाम्रो देशले धेरै दशकदेखि आतङ्कवादको सामना गरिरहेको छ । देशको छाती छेडिएको छ । हामीले नयाँ मान्यता स्थापित गरेका छौँ । हामी आतङ्कवादी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई फरक मान्ने छैनौँ ।” “भारतले आणविक धम्की सहन नसक्ने निर्णय गरेको छ । आणविक ब्ल्याकमेल लामो समयदेखि चलिरहेको छ । अब हामी ब्ल्याकमेल सहन सक्दैनौँ । यदि शत्रुहरूले भविष्यमा पनि यो प्रयास जारी राखे भने सेनाले निर्णय गर्ने छ,” उहाँले स्पष्ट गर्नुभयो ।