गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ३१ गते । भ्रष्टाचारका मुद्दा सुनुवाइ गर्ने क्षेत्राधिकार पाएको विशेष अदालतमा न्यायाधीश फेरिएका छन् । विशेषका हालका अध्यक्ष टेकनारायण कुँवर तथा चार सदस्यको सरुवा भएको छ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारलाई परामर्श दिएको छ । यस्तै उच्चकै अन्य चार न्यायाधीश सदस्यका लागि परिषद्ले सरकारलाई परामर्श दिएको छ । विशेषका अध्यक्ष र सदस्य परिषद्को परामर्शमा सरकारले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
अध्यक्ष कुँवरको उच्च अदालत जनकपुरमा सरुवा भएको छ । यस्तै सदस्य तेजनारायणसिंह राईको उच्च अदालत पोखरा र मुरारीबाबु श्रेष्ठ उच्च अदालत जनकपुरमा सरुवा भएको छ । यस्तै सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सरुवा भएको छ । न्यायाधीश विदुर कोइराला हालसालै मात्र विशेषमा सदस्य तोकिनुभएकाले उहाँको सरुवा भएको छैन ।
परिषद्ले विशेषको नयाँ अध्यक्षमा भट्टलाई पठाउने गरी परामर्श दिएको छ । भट्ट हाल उच्च अदालत पाटनमा कार्यरत हुनुहुन्छ । यस्तै सदस्यमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालालाई नियुक्तिको परामर्श परिषद्ले दिएको छ । पौडेलको उच्च अदालत जनकपुरको वीरगन्ज इजलास, रावलको उच्च अदालत सुर्खेत, श्रेष्ठको उच्च अदालत सुर्खेतको जुम्ला इजलास र कोइरालाको उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पदभार रहने गरी विशेषको सदस्य तोक्न परामर्श दिइएको हो । परिषद्ले राजस्व न्यायाधीकरण नेपालगन्जको अध्यक्षमा मुनेन्द्र अवस्थीलाई तोक्न परामर्श दिने निर्णय गरेको छ । उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा पदभार रहने गरी अध्यक्ष तोक्न परामर्श परिषद्ले दिएको हो । यस्तै परिषद्ले जिल्ला न्यायाधीश अर्जुन कोइरालाको काज सरुवा गरेको छ । कोइरालाको भक्तपुर जिल्ला अदालतमा काज सरुवा सिफारिस भएको हो ।
उच्च र जिल्ला न्यायाधीशको सरुवा
यस्तै परिषद्ले उच्च अदालतका ८८ न्यायाधीशको सरुवा गरेको छ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दा फैसला विवादमा परेपछि छानबिनका क्रममा न्याय परिषद्मा तानिनुभएका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको पनि सरुवा भएको छ । थारूको उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलास र महर्जनको धनकुटा इजलासमा सरुवा गरिएको छ । सरुवा भए पनि दुवै जनाले पदभार भने सम्हाल्ने छैनन् ।
यस्तै परिषद्ले छानबिन गरिरहेका जिल्ला न्यायाधीश पुष्पराज पाण्डेयको पनि सरुवा भएको छ । दार्चुला जिल्ला अदालतमा कार्यरत पाण्डेय विवादमा परेसँगै परिषद्मा तानिनुभएको थियो । पाण्डेयलाई सर्लाही जिल्ला अदालतमा सरुवा गरिएको छ । परिषद्ले जिल्ला अदालतका १२२ न्यायाधीशको सरुवा गरेको छ ।