• १२ भदौ २०८२, बिहिबार

विषादीयुक्त मदिरा सेवनले पैँतिस नेपाली अस्पताल भर्ना

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ३१ गते । कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएकामध्ये केहीको मृत्यु भएको र केही बिरामीको गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ । त्यहाँस्थित नेपाली दूतावासले शुक्रबार विज्ञप्ति जारी गरी बिरामी भएको जानकारी हुनासाथ अस्पताल पुगेर बिरामीको अवस्थाबारे जानकारी लिएको र उचित उपचारका लागि समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ । 

दूतावासले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ तर मृतक सङ्ख्या तथा कुनै विवरण खुलाएको छैन । स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेयपदार्थ सेवनबाट टाढा रहनसमेत दूतावासले अनुरोध गरेको छ । यसैबिच नेपाली बिबिसी सेवाका अनुसार गैरकानुनी रूपमा बिक्री हुने विषादीयुक्त मदिरा सेवन गरेको भनिएका थप ३५ जनाभन्दा धेरै नेपाली कुवेतका विभिन्न अस्पतालमा उपचाररत छन् । बिबिसीले कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै मेथनोल मिसावट गरिएको मादक पदार्थ सेवनका कारण १६० जना प्रभावित भएको जनाएको छ । मृतक सङ्ख्या २३ पुगेको र अधिकांश एसियाली मूलका मानिस रहेको सो मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत जनाएको समाचारमा उल्लेख छ । “अधिकांश पीडितलाई सघन चिकित्सा एकाइ (आइसियु) मा भर्ना गरिएको छ । त्यहाँ भेन्टिलेटर र आपत्कालीन डायलासिसको आवश्यक परेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले भनेको छ,” बिबिसीले समाचारमा उल्लेख गरेको छ ।