• ६ जेठ २०८१, आइतबार

मैवाखोलाको बजेट साढे ३७ करोड

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार मैवाखोला गाउँपालिकाले ११ औं गाउँसभा तथा अधिवेशन आयोजना गर्दै आगामी आवको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको हो । 

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिँदै आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । गुणस्तरीय शिक्षाका लागि मैवाखोला माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्तरवृद्धि गर्नेसहित पालिकाभरिका विद्यालयमा प्रभावकारी शिक्षण गर्ने नीति अघि सारिएको छ । 

यस्तै, स्वास्थ्यतर्फ पालिकाभित्रै चिकित्सक उत्पादन गर्नेगरी स्वास्थ्य नीति गाउँपालिकाले ल्याएको छ । कृषिलाई प्राथमिकता दिँदै अर्गानिक पालिकाका रुपमा स्थापित गर्नेगरी कृषि नीतिलाई जोड दिइएको छ । आगामी आवको बजेट कुल ३७ करोड ५४ लाख २२ हजार रुपियाँ रहेको छ । 

चालूतर्फ बाहेकको बजेटलाई गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रमलाई नै प्रभावकारी कार्यान्वयन गर्नेगरी विभिन्न योजना बनाएर बजेट विनियोजन गरिएको छ । सङ्घ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोहीअनुसार कार्यान्वयन गर्नेगरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले जानकारी दिनुभयो । 

ताप्लेजुङका नौवटा स्थानीय तहमध्ये मैवाखोलाले एकदिन अघि बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको हो । बाँकी फुङ्लिङ नगरपालिकासहित आठवटा स्थानीय तहले शुक्रबार बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको जनाएका छन् ।