ब्रसेल्स, साउन २६ गते । युक्रेन बिना गरिने कुनै पनि सम्झौताले युक्रेनलाई अस्वीकार्य सम्झौता गर्न बाध्य पार्न सक्ने डरले युरोपेली सङ्घका विदेशमन्त्रीहरूले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबिच हुने वार्ताअघि आगामी कदमबारे छलफल गर्न सोमबार आपतकालीन वार्ता गर्ने भएका छन् ।
तीन वर्षदेखि जारी युद्ध समाधानका लागि दुई नेताबिच शुक्रबार अलास्कामा भेटवार्ता हुनेछ तर युरोपियन युनियन (इयू) ले भने द्वन्द्व अन्त्यका लागि हुने कुनै पनि सम्झौतामा किएभ र युरोपेली शक्ति सहभागी हुनुपर्नेमा जोड दिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बिना अमेरिका र रुसबिच बैठक गर्ने विचारले यो सम्झौताका लागि किएभले आफ्नो भू-भाग छोड्नुपर्ने चिन्ता बढाएको छ, जसलाई इयूले अस्वीकार गरेको छ ।
युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिगाको उपस्थितिमा सोमबार स्थानीय समयअनुसार दिउसो २ः०० बजे भिडियो लिङ्कमार्फत हुने बैठकमा इयूका विदेशमन्त्रीहरूले आगामी कदमबारे छलफल गर्ने छन् । युरोपेली नेताहरूले युक्रेनलाई वार्तामा भाग लिनका लागि सप्ताहन्तमा कडा दबाब दिएका थिए ।
फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत र फिनल्यान्डका नेताहरू तथा इयू कमिसनका प्रमुख उर्सुला भोन डेर लेयेनले एक संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पलाई रुसमाथि थप दबाब दिन आग्रह गरेका छन् । जर्मन चान्सलर फ्रेडरिक मर्जले आइतबार शिखर सम्मेलनमा जेलेन्स्की सहभागी हुने आशा व्यक्त गर्नु भएको छ । डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, आइसल्यान्ड, लाटभिया, लिथुआनिया, नर्वे र स्वीडेनका नेताहरूले पनि किएभको संलग्नता बिना कुनै पनि निर्णय लिन नहुने बताएका छन् ।
युद्ध अन्त्यका लागि वार्ता युद्धविरामको समयमा मात्र हुन सक्ने उनीहरूले संयुक्त वक्तव्यमा उल्लेख गरेका छन् । उपराष्ट्रपति जेडी भान्सले आइतबार अमेरिकाले ट्रम्प र उहाँका रुसी समकक्षीबिच हुने बैठकमा किएभको प्रतिनिधित्व गरी तालिका तयार गर्ने पहल अमेरिकाले गरिरहेको बताउनुभएको छ । रासस/एएफपी