• २ भदौ २०८२, सोमबार

जनसम्पर्क सुदृढीकरण गर्न कांग्रेस प्रवक्ता डा. महतको आह्वान

blog

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत

बेल्जियम, साउन २६ गते । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताउनुभएको छ । 

नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधि साथीको भेलामा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै डा. महतले बेल्जियम युरोपको केन्द्रविन्दुमा रहेको र धेरै प्रतिबद्ध साथी सक्रिय रहेकाले बेल्जियम समितिको भूमिका युरोपमा अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो । 

युरोपका विभिन्न जनसम्पर्क समितिहरूलाई थप क्रियाशील बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आफू पूर्वी युरोप (रोमानिया, क्रोएसिया, हङ्गेरी, अल्बानिया, बुल्गेरिया) मा जाँदा ठुलो सङ्ख्यामा नेपाली रहेको र ती ठाउँमा जनसम्पर्क समिति विस्तार गर्न जरुरी भएको बताउनुभयो । 

जहाँ पहिलेदेखि जनसम्पर्क समिति छ र नेपालीको पहिलो पुस्ताबाट दोस्रो पुस्तामा प्रवेश गरेका छन्, ती देशहरूमा समितिहरूलाई थप सक्रिय गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले डेनमार्कमा देखिएको समस्या समाधान भई सङ्गठन निर्माण र जनसम्पर्क समितिको उपस्थितिलाई विस्तार गर्ने तथा एकीकृत गर्ने दिशामा जानुपर्नेमा पनि जोड दिनुभयो । 

नेपालको राजनीति र डायस्पोराको प्रभाव 

डा. महतले युरोप, अमेरिका, मध्यपूर्व र दक्षिण पूर्व एसियामा ठुलो सङ्ख्यामा नेपाली बस्ने भएकाले अब नेपालको राजनीतिलाई मात्र हेरेर नपुग्ने बताउनुभयो । 

पार्टीहरूले नेपालबाहिर पनि नेपाल छ भन्ने कुरा आत्मसात गर्न जरुरी रहेको र नेपाली कांग्रेसले यसलाई आत्मसात गरिरहेको उहाँको भनाइ थियो।

विदेशमा बस्ने नेपालीहरूको नेपालसँग प्रत्यक्ष सम्बन्ध, परिवार, नातागोता र प्रभाव भएकाले उनीहरूको चासो र चिन्तालाई सम्बोधन नगरे निर्वाचनमा त्यसको प्रभाव पर्ने सक्ने कुरामा उहाँको जोड थियो। 

सामाजिक सञ्जालको प्रभाव र विदेशमा बस्ने नेपालीको निर्णयले नेपालमा बस्ने परिवारका सदस्यहरूको मतलाई प्रभावित गर्ने हुँदा पार्टीले विदेशमा बस्ने नेपालीलाई विशेष रूपमा हेर्न जरुरी रहेको डा.महतको भनाइ थियो।

डा. महतले विदेशमा बस्ने नेपालीको विषयमा निर्णायक कुरा गर्ने पार्टी नेपाली कांग्रेस नै भएको पनि बताउनुभयो । गैरआवासीय नेपाली नागरिकताः संविधान सभाको दुवै कार्यकालमा आफू मस्यौदा समितिको सदस्य हुँदा राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार गैरआवासीय नेपालीलाई दिन धेरै कठिन भएको तर नेपाली कांग्रेसले नै त्यसको नेतृत्व गरेको स्मरण गराउनुभयो । उहाँले कानुन बन्न ढिलाइ भएको स्वीकार गर्दै, कानुन बनेपछि राजनीतिक अधिकार बाहेकका सम्पूर्ण अधिकार सुरक्षित हुने बताउनुभयो । 

डा. महतले व्यक्तिगत रूपमा दोहोरो नागरिकताको पक्षमा रहेको र यसबाट नेपाललाई घाटा नहुने विश्वास व्यक्त गर्नुभयो । यसले नेपालीलाई नेपालसँग जोडिरहने थप आधार दिने उनको तर्क थियो। यद्यपि, यसका लागि देश भित्रका विभिन्न सरोकारवालालाई बुझाउन समय लाग्ने तर ढिलो चाँडो यो कार्यान्वयन हुनेमा उहाँको विश्वास थियो।

नेपाली कांग्रेसले नागरिक अधिकार, विधिको शासन, र जनताको अनुमति बिना सत्तामा जान नपाउने जस्ता नीतिहरू स्थापित गरेको पनि उहाँले बताउनुभयो । आर्थिक रूपान्तरण र लगानीको नेतृत्व पनि कांग्रेसले नै गरेको उहाँले उल्लेख गर्नुभयो । 

पार्टीको समस्या नीति सिद्धान्तमा नभई सङ्गठनमा रहेको उहाँले बताउनुभयो । व्यक्तिवादी प्रवृत्ति र एक–अर्कालाई फसाउन ऊर्जा खर्च गर्ने प्रवृत्ति प्रमुख समस्या रहेको औँल्याउदै डा. महतले पार्टीको आधिकारिक निर्णयलाई लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

उहाँले सामाजिक सञ्जालको प्रयोगले झुटो कुरा स्थापित भइरहेको र नयाँ पुस्तामा नकारात्मकता फैलिरहेको सन्दर्भमा सामाजिक सञ्जालमा सक्रिय नेपाली कांग्रेसका सदस्यहरूलाई सामूहिक रूपमा पार्टीका सकारात्मक कुराहरू राख्न अनुरोध पनि गर्नुभयो । 

डा. महतले नेपालमा ठूलो सम्भावना रहेको र विकासका धेरै अवसरहरू रहेको पनि बताउनुभयो । आईटी क्षेत्र, आधुनिक प्रविधियुक्त कृषि र पर्यटनमा लगानीको सम्भावना रहेको उहाँको भनाई थियो । 

उहाँले जनसम्पर्क समितिका सदस्यहरू एनआरएनएमा जाँदा सबैको साझा भएर काम गर्नुपर्ने तर प्रतिनिधित्व कांग्रेसको तर्फबाट आएकोले आफ्नो काम गर्ने शैलीमा ओरिएन्टेसनमा फरक पर्ने बताउनुभयो । 

डा. महतले नयाँ पुस्तालाई नेपालसँग र पार्टीसँग जोड्न युवा कमिटीहरू बनाएर अभियान चलाउनु पर्नेमा पनि जोड दिनुभयो । अधिवेशनहरू समयमै सम्पन्न गरेर नयाँ नेतृत्वलाई अवसर दिनपर्ने उल्लेख गर्दै उहाँले आफूले व्यक्त गरेका कुराहरू व्यक्तिगत वा गुटगत नभई पार्टीलाई मजबुत बनाउने र पार्टीका समस्या समाधान गर्नेतर्फ केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।