गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २६ गते । विदेशी सवारीसाधनको आधिपत्य रहेको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा स्वदेशमै उत्पादित विद्युतीय रिक्सा (ई रिक्सा) मा अवलोकनकर्ताको चासो धेरै देखिएको छ ।
एक्स्पोमा मेगाटेक समूहले स्वदेशमै बनाएका यी विद्युतीय तीनपाङ्ग्रे रिक्सालाई स्कुल भ्यान, तरकारी र फलफूल बिक्री, कुखुरा र मासु ढुवानी, फोहोर सङ्कलन र पानी बोक्ने ट्याङ्करका रूपमा प्रस्तुत गरिएको छ ।
मेगाटेक समूहले मोरङको बुढीगङ्गामा रहेको आफ्नो कारखानामा यी ई रिक्साको डिजाइनदेखि निर्माणसम्मको काम नेपालमै गर्छ । कम्पनीका प्रमुख सुरेश लोहनीका अनुसार अत्यावश्यक पार्टपुर्जा आयात गरिए पनि सम्भव पार्ट्स नेपालमै बनाइएका हुन् । “यी अटोरिक्सामा ७० प्रतिशत मूल्य अभिवृद्धि (भ्याल्यु एड) गरिएका छन्,” उहाँले भन्नुभयो, “नेपाली सडक र बजारको आवश्यकता बुझेर बनाइएका यी रिक्सा साना व्यवसायी, किसान र स्थानीय सरकारलाई उपयोगी हुने छन् ।”
मेगाटेकले ब्याट्री र धातुका पाटर्स नेपालमै बनाउँछ तर इलेक्ट्रोनिक्सलगायत केही सामान बाहिरबाट ल्याउने गरेको लोहनीले बताउनुभयो । अहिलेसम्म कम्पनीले करिब एक हजार युनिट यस्ता रिक्सा बनाइसकेको उहाँले जानकारी दिनुभयो ।