राधा लुइटेल
फिदिम, साउन २५ गते । सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदको विकासका लागि पूर्वाधारमा लगानी बढाउने बताउनुभएको छ ।
खेलाडी उत्पादन नभए खेलकुदको विकास नहुने भन्दै मन्त्री चौधरीले अब फुटबल, भलिबल र क्रिकेटसहितका खेलकुदको खेलाडी उत्पादनका लागि प्रशिक्षण र आवश्यक पूर्वाधार निर्माणमा केन्द्रीत नीति कार्यक्रम बनाउने बताउनुभयो ।
ग्रामिण खेलाडी उत्पादन गर्न पालिकाहरूमै कार्यक्रम कार्यन्वयन गर्ने गरी लगानी बढाउने नीति ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ । आइतबार पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समिति पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले पाँचथरको फिदिममा निर्माणाण थालेर अधुरो रहेका खेल मैदानलाई पूर्णता दिन पहल गर्ने प्रतिबद्वता जनाउनुभयो ।
‘भरसक निर्माणको जिम्मा दिइएको ठेकेदार कम्पनीलाई थप जिम्मेवार बनाउने नभए प्रक्रिया पुर्याएर ठेक्का तोड्ने प्रक्रिया थाल्ने छौँ,’’ उहाँले भन्नुभयो ।
फिदिममा २०७७ फागुन १ गते तत्कालीन भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गरेको फिदिम रङ्गशालाको निर्माण अधुरो छ । १२ करोड १५ लाख ६६ हजार रुपियाँमा निर्माण गर्ने भनिएको खेल मैदानको ३१.७५ काम सकेर निर्माण व्यवसायी सम्पर्कबिहिन छन् ।
यसैगरी, फिदिम–५ मा रहेको पाँचथर रङ्गशालाको निर्माण पनि स्थानीयले नि:शुल्क दिएको ६२ रोपनी जग्गामा हुनुपर्ने भए पनि बजेट अभावका कारण रोकिएको छ ।
मन्त्री चौधरीले यसका लागि पनि आगामी आर्थिक वर्षमा आवश्यक बजेट व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो । मन्त्री चौधरीले जिल्लाको खेलकुद विकास र खेल मैदान निर्माणमा सरकारले ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।