• २६ साउन २०८२, सोमबार

जीवन बिमा व्यवसायमा सोह्र प्रतिशत वृद्धि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २५ गते । एक वर्षमा नेपालका जीवन बिमा कम्पनीको व्यवसाय दुई खर्ब रुपियाँनजिक पुगेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क अनुसार नेपालमा सञ्चालित १४ वटा जीवन बिमा कम्पनीले कुल एक खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपियाँ बिमा शुल्क आर्जन गरेका छन् । जुन अघिल्लो आवको तुलनामा १६.०५ प्रतिशतले बढी हो ।

तीन वटा लघु जीवन बिमा कम्पनीको समेत जोड्दा यो रकम एक खर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपियाँ पुगेको छ ।  प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो आवमा जीवन बिमा कम्पनीको व्यवसाय एक खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपियाँ रहेको थियो ।

प्राधिकरणका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले कुल ४८ अर्ब तीन करोड ८० लाख रुपियाँ बराबरको बिमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको भन्दा १७.५९ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आव ४० अर्ब ८५ करोड पाँच लाख रुपियाँ बराबरको बिमा व्यवसाय गरेको थियो ।

नेपाल लाइफलाई पछ्याउँदै नेसनल लाइफ इन्स्योरेन्सले गत आवमा २२ अर्ब ४२ करोड ४४ लाख रुपियाँ बराबरको व्यवसाय गरेको छ । यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सले पाँच अर्ब ४५ लाख रुपियाँ बराबरको व्यवसाय गरेको छ । एसियन लाइफको व्यवसाय १० अर्ब २४ करोड ८४ लाख रुपियाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले १९ अर्ब ९२ करोड ५५ लाख रुपियाँ बराबरको व्यवसाय गरेका छन् । 

यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको व्यवसाय १७ अर्ब ६६ करोड सात लाख रुपियाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ११ अर्ब १८ करोड ७३ लाख रुपियाँ रहेको छ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बिमा कम्पनीले नौ अर्ब ८५ करोड ६६ लाख रुपियाँ बराबरको व्यवसाय गरेको छ ।

सिटिजन लाइफले सात अर्ब ५१ करोड १३ लाख रुपियाँ, सानिमा रिलायन्स लाइफले सात अर्ब ६९ लाख रुपियाँ बराबरको बिमा व्यवसाय गरेको छ ।

गत आवमा आइएमई लाइफले पाँच अर्ब ६५ करोड २७ लाख रुपियाँ, प्रभु महालक्ष्मी लाइफले पाँच अर्ब ३७ करोड एक लाख रुपियाँ, रिलायबल नेपाल लाइफले पाँच अर्ब २८ करोड ४५ लाख रुपियाँ बराबरको व्यवसाय गरेको छ ।

जीवन लघुबिमाको व्यवसाय चौरासी करोड 

गत आवमा सञ्चालनमा रहेका तीन जीवन लघुबिमा कम्पनीले ८४ करोड ३४ लाख रुपियाँ बराबर व्यवसाय गरे । समीक्षा अवधिमा गार्डियन माइक्रो लाइफले सर्वाधिक ३१ करोड ९९ लाख रुपियाँ बराबरको व्यवसाय गरेको हो ।

गार्डियनलाई पछ्याउँदै क्रेस्ट माइक्रो लाइफले ३१ करोड २९ लाख रुपियाँ र लिबर्टी माइक्रो लाइफले २१ करोड पाँच लाख रुपियाँ बराबरको बिमा शुल्क आर्जन गरेका छन् ।