गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २५ गते । नेपालमा नसर्ने रोगको प्रकोप घट्न सकेको छैन । पछिल्लो समय मिर्गौला, क्यान्सर, मुटु, मस्तिष्कघातलगायतका नसर्ने रोगको भार बढिरहेको छ ।
नेपाल एनसिडी एलायन्सले आयोजनामा गरेको ‘नसर्ने रोगसम्बन्धी मिडिया पैरवी कार्यशाला’ मा वक्ताहरूले नेपालमा नसर्ने रोग बढ्दो क्रममा रहेको भन्दै नसर्ने रोगको भारलाई कम गर्न भएका नीति कार्यान्वयन गरेर जनचेतना फैलाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा एनसिडी एलायन्सका सहअध्यक्ष शान्तलाल मुल्मीले विश्वव्यापी रूपमा नसर्ने रोगको प्रकोप बढ्दै गएको बताउनुभयो । उहाँले नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न भएका नीति प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । नेपाल डाइबेटिज सोसाइटीका अध्यक्ष शिव श्रेष्ठले नेपालमा मधुमेह, मिर्गौला, क्यान्सरलगायतका रोग बढ्दै गएको बताउनुभयो ।