• २४ साउन २०८२, शनिबार

कारागार घटना छानबिन गर्न समिति गठन

blog

जिल्ला सुरक्षा समितिको बैठक । तस्बिर : भानुभक्त आचार्य

अविनाश चौधरी

धनगढी, साउन २४ गते । कैलाली कारागारमा दुई पक्षका कैदीबिच भएको झडपको घटनाको छानबिनका लागि पाँच सदस्यी छानबिन समिति गठन गरिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोकत्वमा छानबिन समिति गठन गरिएको हो । शुक्रबारराति कैदीबिच झडप भएपछि विहान जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । 

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक जनकराज पन्त र जिल्ला अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत दीपेन्द्र सिंह रहनुभएको छ ।

सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी रहनु भएको छ । छानबिन समितिलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहनु भएका सदस्य सचिव जोशीले जानकारी दिनुभयो ।  

शुक्रबार राति करिब पौने १ बजे दुई पक्षका कैदीबिच झडप भएको थियो । उनीहरूबिच जिम गर्ने सामग्रीले हानाहान भएको सूचना आएको कारागारका खरिदार रामप्रसाद चौधरीले जानकारी दिनुभयो ।

झडपमा परी धनगढीका ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । ४७ जना घाइते भएका छन् । उनीहरूको टाउको, हात, मुख लगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।