• २४ साउन २०८२, शनिबार

बसको ठक्करबाट एककाे मृत्यु

blog

विनय कर्णर 

कल्याणपुर (सप्तरी), साउन २४ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा बसको ठक्करबाट एक जना वृद्धकाे मृत्यु भएको छ ।

गाउँपालिका-२ स्थित चाँदनी चौकमा शनिबार बिहान बसले दिएको ठक्करबाट वृद्धको मृत्यु भएको हो । स्थानीय सितापुर निवासी ६८ वर्षीय बुदुर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र १–०१–००१ ख ४५६० नम्बरको बसले सोही दिशातर्फ साइकलमा धानखेततर्फ जाँदै गरेका चौधरीलाई पछाडिबाट ठक्कर दिँदा उनी घटनास्थलमै मृत्यु भएको हो ।

विहान करिब ६ बजे भएको घटनापछि ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यता घटनापछि आक्रोशित स्थानीयवासी र मृतकका आफन्तहरूले बिहानैदेखि राजमार्ग अवरुद्ध गरेका छन्।