• २४ साउन २०८२, शनिबार

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप आजदेखि

blog

आयोजक र सुनसरीको लोगोसहित उद्‌घाटन खेलको खेल तालिका ।

साहारा लिम्बू

फुङलिङ, साउन २४ गते । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ताप्लेजुङको फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आजदेखि सुरु हुन लागेको हो । 

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा आयोजित उद्‌घाटन खेलमा आज आयोजक टीम तेल्लोक स्पोर्टिङ क्लबले द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीसँग प्रतिष्पर्धा गर्दैछ । विदेशी खेलाडी सहित मैदान उत्रन लागेको दुवै टिमले विजय हासिल गर्दै सेमिफाइनलमा प्रवेश गर्ने दाबीका साथ मैदान प्रवेश गर्दैछन् । 

आजको विजेताले सोमबार हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ । यस्तै भोलि सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच आमनेसामने हुनेछ । साउन २७ गते हुने क्वाटर फाइनलको अन्तिम खेलमा सलहेस युवा क्लब सिरहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच भिडन्त हुँदैछ । भारतका एक सहित नेपालका चार ओटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्नेछ । 

क्वाटर फाइनल चरणका  चार ओटा खेलहरूका लागि एक सय रुपियाँ, सेमिफाइनलमा दुई सय र फाइनलमा दुई सय पचास रुपियाँ टिकट दर निर्धारण गरेको छ । टिकट काटेर मैदान प्रवेश गर्ने दर्शकका लागि हरेक दिन गोलाप्रथाको माध्यमबाट एउटा स्मार्ट फोनको साथमा पावर बैँक र एयर बड समेत व्यवस्था गरिएको समितिले जनाएको छ । 

मैदानमा करिब ९ हजार बढी दर्शक व्यवस्थापनका लागि बाँसबाट निर्मित अस्थायी तथा स्थायी प्याराफिटहरु रहेका छन् । हरेक दर्शकको निगरानीका लागि यस वर्षदेखि मैदान आसपासका क्षेत्रमा सिसिटिभी समेत जडान गरिएका आयोजकको भनाइ छ ।