ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन २४ गते । आज जनै पूणिमाको दिन म्याग्दीका बाराही मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ । शनिबार बिहानैदेखि पूजाआजा र दर्शनका लागि पुगेका तिर्थालु, भक्तजन एवम् धार्मिक पर्यटकहरुको भिड लागेको हो ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–५, स्थित प्रशिद्ध धार्मिक स्थल खयरभारानीमा सबैभन्दा धेरै भक्तजनहरु पुगेका छन् । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्वका अवसरमा उच्च पहाडी क्षेत्रमा रहेका ताल तलैया र बाराही मन्दिरहरुमा पूजाअर्चना र दर्शन ठुलो सख्यामा भक्तजनहरु पुगेका छन् ।
समुन्द्री सतहदेखि ४ हजार ६ सय ३० मिटर उचाईमा रहेको खयरलेकमा अवस्थित खयरभारानी र वडा नम्बर ८ को नांगी बाराहीमा भक्तजनहरुको बिहानै देखि भिड लागेको छ । यहाँ चिच्याउँदै वर माग्ने प्रचलन छ । यहाँ एकपटकमा एउटा मात्र वर मागेमा पूरा हुने विश्वास छ ।
कसैले छोराछोरी, कसैले धनसम्पत्ति, कसैले सुखशान्ति, सुस्वास्थ्य, कसैले वैदेशिक रोजगारी तथा सेनामा भर्तीको वर माग्छन् । आफूले माग्न चाहेको वर यहाँका पुजारीलाई भनेपछि पुजारीले चिच्याउँदै वर मागिदिने प्रचलन छ । मागेको बर पूरा भएपछि भाकल फिर्ता गर्न दोस्रो पटक पुग्नुपर्दछ ।
शुक्रबार बेलुका खयरखोलामा बास बसेका भक्तजनहरु खयरभारानीको दर्शनका लागि बिहानै पुगेका छन् । अन्नपूर्ण हिमालको फेदीमा रहेको खयरबराह ताल छेवैमा अवस्थित खयरभारानी थानमा बिहानै देखि भक्तजनहरुको भिड लागेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संरक्षक राजु पुनले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दी, पर्वत, बागलुङ, कास्की र काठमाडौं लगायतका जिल्लाबाट ठुलो सख्यामा भक्तजन आएका छन् । कोषले दर्शन र पूजाको सम्पूर्ण व्यवस्था मिलाएको छ ।
यसैगरी, रघुगंगा गाउँपालिका–८ को रिखार, वडा नम्बर ७ को कालीबराह ताललगायतका ठाउँमा पनि भक्तजनहरु दर्शनका लागि पुगेका छन् । बराह, बाराही र भारानी ताल र मन्दिरहरुमा पूजा आजा गरेर वर मागेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
जनै पूर्णिमाको दिन खयरभारानी, रिखार, कालीबराह तालकासाथै नांगीबाराही, भगवतीको नौलीबाराही र घराम्दीको प्यारी बराही लगायतका थान र तलाउमा भक्तजनहरुको पूजाका लागि पुगेपछि चहलपहल बढेको छ । स्थानीयहरुले दर्शन र पूजाका लागि पुगेका भक्तजनहरुको सहयोगका लागि स्वयमसेवकहरु परिचालन गरेका छन् ।