सर्लाही, साउन २४ गते । नेपाल एकीकृत विकास समाज लालबन्दीले आयोजना गरेको १४ दिने मिथिला चित्रकलासम्बन्धी तालिममा सहभागी भएका महिलाले मिथिलाको संस्कृतिसँग जोडिएका विभिन्न चित्रकला बनाएर प्रदर्शनी गरेका छन् ।
चन्द्रनगर गाउँपालिका–२, बबरगन्जकी अनारकली सिंहले आफ्नो संस्कार र संस्कृतिसँग जोडिएको विषयमा चित्रकला बनाउन सिक्दा अत्यन्त खुसी लागेको बताउनुभयो । चन्द्रनगर गाउँपालिकाभित्रका १५ जना महिलालाई मुख्य प्रशिक्षक कामिनीकुमारी साहले मिथिला चित्रकला बनाउन सिकाउनुभएको हो ।
चित्रकलासम्बन्धी तालिममा सहभागी महिलालाई आयआर्जनमा समेत जोड्ने उद्देश्य रहेको नेपाल एकीकृत विकास समाज लालबन्दीका कार्यकारी निर्देशक दिवाकर झाले बताउनुभयो । महिलाले मिथिला क्षेत्रको संस्कार झल्कने मात्र होइन महिलामाथि हुने घरेलु हिंसा र अपमान, बालविवाह, लैङ्गिक हिंसा र कानुनी उपचारलगायत विषय समेटिएको चित्रकला बनाएर प्रदर्शनी गरेका छन् ।
हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाँलले ग्रामीण भेगका गृहिणी महिलाले यति राम्रा चित्र कोरेर प्रदर्शनीमा राखेकोमा खुसी व्यक्त गर्नुभयो ।