• २४ साउन २०८२, शनिबार

घोनाई जात्राको तयारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २४ गते । कृषिप्रधान देश नेपालको परम्परागत संस्कृति, कलाको रूपमा प्रचलित रोपाइँ (घोनाई) जात्राको प्रवर्धनका लागि प्रतियोगितासहित यो जात्रा राजधानीमा भव्य पर्वका रूपमा मनाइने भएको छ । बौद्ध तामाङ कल्याण गुठीको नेतृत्वमा गठित गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिद्वारा कार्यक्रमको आयोजना गर्दै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक सन्देश दिने रोपाइँजात्रा साउन २६ गते प्रतियोगितासहित मनाउने जानकारी दिइएको हो ।

समितिका संयोजक एवं तामाङ कल्याण गुठीका अध्यक्ष जयमङ्गल लामाले बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाइँजात्रा (घोनाई) सो क्षेत्रको पहिचानका रूपमा चर्चित रहेको तर युवापुस्ताले जात्रामा सहभागिता जनाउन छोड्दै गएकाले विगतका वर्षदेखि नै प्रतियोगितात्मक जात्राको आयोजना गर्दै आएको बताउनुभयो  ।

गाईजात्राको भोलिपल्ट रोपाइँजात्रा मनाउने चलन मल्लकालबाट चलिआएको कथन रहेको छ । खेतीपातीको काम सकिएपछि खुसियाली, व्यङ्ग्यात्मक शैलीका साथ मनाइने जात्रामा सहभागीले ठट्यौली पारामा साजसज्जा र विभिन्न पहिरनसहित सहभागिता जनाउने परम्परा रहेको छ ।