गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २४ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पदाधिकारीको संयुक्त बैठक नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा तीनवटै प्रतिष्ठानका कुलपति, उपकुलपति, प्राज्ञपरिषद् सदस्यको उपस्थिति रहेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिसम्बन्धी राष्ट्रिय सम्मेलन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले केन्द्रका तीनवटै प्रतिष्ठानले प्राज्ञिक अध्ययन, अनुसन्धान गहिरो गरी गर्न लगानी व्यापक बनाउनुपर्ने विचार राख्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीले संस्थागत, नीतिगत, कार्यक्रमिक विषयलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले प्राज्ञिक संस्थाहरूको सहकार्यले प्राज्ञिक ज्ञानलाई इस्पातिलो बनाउन मद्दत गर्ने र त्यसले देशको सांस्कृतिक जगलाई बलियो बनाउने बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले समाजवादी प्राज्ञिक अभ्यास गर्ने र सहकार्यका विषयमा खोजी गर्न जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले गणतन्त्र दिवस, सहिद दिवस, संविधान दिवस जस्ता राष्ट्रिय कार्यक्रममा सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले पछिल्ला दुई वर्ष प्रतिष्ठानले सम्पन्न गरेका कार्य, प्रतिष्ठानका योजनागत, कार्यक्रमिक, रणनीतिक र यस आर्थिक वर्षमा गरिने महत्वपूर्ण कार्यका बारेमा विस्तृत रूपमा चर्चा गर्नुभयो । उहाँले केन्द्रका तीन वटा प्रज्ञा–प्रतिष्ठान संयुक्त रूपमा भेला भई छलफल गर्दा यसले सांस्कृतिक क्षेत्रमा राष्ट्रिय महìवका कार्य गर्न अझ सहयोग गर्ने बताउनुभयो ।