काठमाडौँ, साउन २४ गते । उपसभामुख इन्दिरा रानाले हिन्दू धर्मावलम्बीहरुले मनाउने पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
रक्षाबन्धन विशेषगरी हिन्दू ब्राम्हण तथा क्षत्रिय पुरुषहरुले परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाएर मनाउने गरेका छन। नेपालमा धेरै धार्मिक समुदायले यसलाई श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ। नेवारी संस्कृतिमा गुंपुन्ही नामले चिनिने यस पर्वमा नेपालका तराई क्षेत्रमा दाजुभाइ र दिदीबहिनीहरुले एक आपसमा राखी बाँधी आपसी भाइचारा, प्रेम र सद्भाव अभिवृद्धिका लागि शुभकामना आदानप्रदान गर्ने प्रचलन पनि रहिआएको छ।
गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरि मनाइन्छ। पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएकामा गाइजात्राको प्रचलन चलेको जनविश्वास रही आएको छ। विकृतिका विरुद्ध गरिने प्रहसनले हामी सबैलाई सत्कर्ममा डोर्याउन प्रेरित गर्दै आएको छ।
प्राचीनकालदेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमका रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ। यस्ता पर्वहरुले आपसी सद्भाव र एकता कायम गर्दै मुलुकमा विद्यमान विकृति, विसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न प्रेरणा पनि दिने गर्दछन।
गाईजात्रा र जनैपूर्णिमा (ऋषितर्पणी) पर्वले सबै नेपालीलाई राष्ट्र निर्माणको साझा भावनाद्वारा प्रेरित भई सामाजिक सद्भाव र एकतासहित पारिवारिक आत्मीयता, प्रेम र खुसी कायम गर्न सकोस भनी शुभकामना व्यक्त गर्नु भएको छ।