• २० साउन २०८२, मङ्गलबार

चुम उपत्यकामा पर्यटन पदमार्ग निर्माण

blog

चुम उपत्यकामा निर्माण गरिएको पर्यटन पदमार्ग ।

सुलीकोट समाचारदाता 

सुलीकोट, साउन २० गते ।  उत्तरी गोरखाको छेकम्पार–चौँरीखर्क–चुम उपत्यकामा पर्यटन पदमार्ग निर्माण सम्पन्न भएको छ । मनासलु संरक्षण क्षेत्र आयोजनाको आर्थिक सहयोगमा झन्डै १० लाख रुपियाँमा एक किलोमिटर पदमार्ग निर्माण गरिएको मनासलु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार पदमार्ग निर्माणले पर्यटकलाई आवतजावत गर्न सहज हुने भएको छ । 

पदमार्ग निर्माण सम्पन्न भएपछि पर्यटकलाई यात्रा सहज भएको भन्दै शेरचनले भन्नुभयो, “अप्ठ्यारो बाटोमा हिँड्न गाह्रो हुन्थ्यो तर अहिले पदमार्ग निर्माण भएपछि पर्यटकलाई हिँडडुल गर्न 

खासै समस्या छैन ।”मनासलु पदमार्ग अन्तर्गतको बाटोमा यात्रा गर्न पर्यटक तथा स्थानीयलाई निकै कठिनाइ भएकाले पनि मनासलु संरक्षण क्षेत्र आयोजना गोरखाले आफ्नै बजेट तथा मनासलु संरक्षण क्षेत्र व्यवस्थापन समितिको जनसहभागिता र सक्रियतामा पदमार्ग निर्माण सम्पन्न भएको मनासलु संरक्षण क्षेत्र आयोजना गोरखाले जनाएको छ ।

मनासलु पदमार्ग अन्तर्गत झन्डै एक किलोमिटरको चुमनुब्री गाउँपालिका–७, छेकम्पारको बाटो चिप्लो, अप्ठ्यारो र भिरालो हुँदा पर्यटकलाई उक्त ठाउँमा सास्ती नै बेहोर्नु परेको थियो । बाटो निर्माणसँगै पर्यटक बढ्न सक्ने प्रमुख शेरचनले बताउनुभयो । दैनिक सयाैँ पर्यटक छेकम्पारको चौँरीखर्क पदमार्ग भएर मनासलु क्षेत्र पुग्ने गरेका छन् । मुख्य गरी पर्यटकलाई सहज रूपमा मनासलु क्षेत्र प्रवेश गराउन छेकम्पारको चौँरीखर्क पदमार्गले सहज बनाउने उहाँको भनाइ छ ।