प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), साउन २० गते । रौतहटको माधवनारायण नगरपालिका–९ गढो भगवानपुरमा बस्तीलाई नदी कटानबाट जोगाउन नगरपालिकाले बाँधको मर्मत सम्भारको कार्य थालेको छ । मनसुन सुरु हुना साथ आइतबार र सोमबार वर्षात धेरै भएकाले बाँध कटान हुन थालेको माधवनारायण नगरपालिका–९ का वडा अध्यक्ष रामकिशोर साहले बताउनुभयो ।
सशस्त्र बेस क्याम्प भलोहियाको छेउमै ३०० मिटर बाँध कटान निकै जोखिम रहेकाले नगरपालिकाले आफ्ना जनताको जीउधनको सुरक्षाका लागि मर्मतको काम शुरु गरेको माधव नारायण नगरपालिकाका नगरप्रमुख बैजनाथप्रसाद यादवले बताउनुभयो । बाँधमा जाली बोल्डर र बोरामा बालुवा हालेर बाँध मर्मतको काम शुरु भएको छ ।
उहाँले तत्काल बाँध मर्मतको कार्य नगरे फुलबरिया, गढो तथा छिमेकी पालिका दुर्गाभगवतिको भलोहिया पूर्णरुपमा प्रभावित हुने बताउनुभयो ।
सङ्घीय सरकार र प्रदेश सरकार चासो नलिएकाले नगरपालिकाबाट काम शुरु गराएको उहाँले बताउनुभयो ।
बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुरका प्रमुख अख्लाख सिद्धिकीले यस आयोजनामा मर्मत तथा निर्माणका लागि रकम नै नरहेकाले केही गर्न नसक्ने बताउनुभएको छ ।
आयोजनाका प्रमुख सिद्धिकीका अनुसार कार्यालय बाराको परवानीपुरबाट रौतहटको चन्द्रनिगाहपुरमा सर्ने निर्णय भए पनि हालसम्म कार्यान्वयन हुन नसकेकोले बजेटको समस्या भएको बताउनुभयो ।