• २० साउन २०८२, मङ्गलबार

एक महिनामा एक प्रतिशत प्रगति

blog

सालझन्डी क्षेत्रमा कलभर्टको काम हुँदै । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, साउन २० गते । बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम वर्षाका कारण प्रभावित भएको छ । बुटवल–गोरुसिङ्गे सडक आयोजनाका अनुसार विगत एक महिनादेखि सडक विस्तारको काम सुस्त भएको छ । आयोजनाका इन्जिनियर अनुज केसीले ५० किलोमिटर सडक विस्तारको काम अहिले बर्खाका कारण प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार सडकको सानोतिनो काम भइरहेको भए पनि ठुला खालका काम सबै रोकिएका छन् । वर्षाले निर्माणको काम प्रभावित भएका कारण एक महिनामा सडक विस्तारको प्रगति जम्मा एक प्रतिशत भएको छ । 

२०८१ माघदेखि सडक विस्तारको काम सुरु भएको थियो भने असार पहिलो सातासम्म सडक विस्तारको भौतिक प्रगति १० प्रतिशत पुगेको थियो । त्यसयताको एक महिनाको अवधिमा सडक विस्तारको भौतिक प्रगति जम्मा एक प्रतिशत मात्रै रहेको छ । 

इन्जिनियर केसीले सडक बिस्तारको काम असार पहिलो साता १० प्रतिशत रहेकोमा एक महिनामा जम्मा एक प्रतिशत बढेर साउनको दोस्रो सातासम्म जम्मा ११ प्रतिशत पुगेको बताउनुभयो । 

२०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तार हुन थालेको हो । बुटवल–नारायणगढ सडकमा जस्तो जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले बुटवल गोरुसिङ्गे खण्ड विस्तार गर्दा अहिलेको कालोपत्रे नभत्काई काम गरिने भएकाले पहिले दायाँबायाँ क्षेत्रतर्फ काम भइरहेको छ । 

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का सम्झौता गरेको छ । आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा गरी २५/२५ किलोमिटरको खण्डमा काम सुरु गरिएको छ । 

पहिलो चरणका लागि सात अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि पाँच अर्ब ६६ करोड २२ लाखमा ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा सडक विस्तारसंँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कलभर्ट पनि निर्माण हुने छन् । आयोजनाका अनुसार सडक विस्तार सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र वनजङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख गरिएको छ ।