• २० साउन २०८२, मङ्गलबार

बागलुङमा सवारी भाडादर कार्यान्वयन भएन

blog

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डको अक्षेतेहुँदै गलकोट–बुर्तिवाङ बजारका लागि छुटेका जिपहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, साउन २० गते ।
एक वर्षअघि यातायात भाडादर समायोजन गरिँदा सदरमुकामदेखि गलकोट नगरपालिकाको हटिया बजार पुग्ने भाडा पाँच सय ६० रुपियाँ तोकिएपनि कुनैपनि सवारी साधनले तोकेको भाडामा यात्री बोकेनन् ।

अधिकांश सवारी साधनले ६ सयदेखि ६ सय ५० रुपियाँ भाडा असुल गरेको यात्रुको गुनासो छ । गलकोटतर्फ जाने जिप मात्र हैन, रातो प्लेटका पिकअपले पनि उत्तिकै यात्री ओसार्छन् । उनीहरुले भाडाको गाडीझै यात्री ओसारे पनि तोकेभन्दा ५० देखि एक सय रुपियाँसम्म बढी भाडा लिने गरेका हुन् । हरिचौरसम्म भए थप एक सय बढी लाग्छ । अर्थात् सात सय ५० रुपियाँसम्म भाडा तिर्ने गरेको एक यात्रीले गुनासो गरे ।

यात्रीलाई फकाएर लैजाने र भाडा भने मनपरी गर्ने काम भइरहेको यात्रीले गुनासो गर्छन् । ‘‘कतिपयले सम्पर्क गरेर जाऔं भन्छन्, तर तोकेभन्दा बढी भाडा लिने गरेका छन्’’ गलकोटका रामबहादुर खत्रीले भन्नुभयो । समायोजन भएको भाडादरबारे बहस गर्दा यात्रीलाई झन्झट हुने खत्रीले गुनासो गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने यातायात भाडादर निर्धारण समितिले गत वर्ष बागलुङका २१ वटा रुटमा भाडा समायोजन गरेको थियो । तर अधिकांशमा भाडादर कायम नभएको यात्रीहरुको गुनासो आएको हो । मध्यपहाडी लोकमार्गको बागलुङदेखि गलकोट, बुर्तिवाङहुँदै जुग्जाखोला र बोङगादोभान, कुश्मीसेरा र बरेङ गाउँपालिकाको हुग्दीशिरसम्मको भाडादर समितिले कायम गरेको हो ।

कतिपय रुटमा भने परमिट नै नभएपछि समितिले भाडा नतोकेको हो । तर अधिकांश परमिट नभएको सडकमा तोकेर भाडा लिने गरिएको छ । त्यसको दररेट समितिले हेर्दैन । समितिले बनाएको कार्यदलले ल्याएको प्रस्तावमा बस रिजर्भको भाडा तोकिएको थियो । सदरमुकाम बागलुङ बजारदेखि गलकोटहुँदै ढोरपाटन नगरपालिकाको बुर्तिवाङ सम्मको ९१ किमी, बुर्तिवाङदेखि १० किमीको बोङगादोभान र बागलुङदेखि ९९ किमीको जुग्जाखोलाका लागि रुट कायम भएको हो ।

सदरमुकामदेखि २१ किमी दक्षिणको जैमिनी नगरपालिका–१ को कुश्मीसेरा र कुश्मीसेराहुँदै राङखानी र बरेङ गाउँपालिकाको हुग्दीशिर सम्मको ५३ किमी तथा बागलुङ बजारदेखि सिगानाहुँदै हुग्दीशिरको ४१ किलोमीटर सडक मात्रै परमिटमा परेको छ । त्यस बाहेक बागलुङ बजारदेखि ताराखोला गाउँपालिका केन्द्र रहेको भातखाने डाँडासम्मको ४२ किमी र गलकोटदेखि ताराखोला १८ किमीको मात्रै रुट परमिट कायम भएको हो ।

सदरमुकामदेखि ९१ किमीको बुर्तिवाङका लागि जिपमा ९ सय ७० र बसमा चढेमा ७ सय ८० रुपियाँ भाडा लाग्नुपर्नेमा तोकेको भाडा तिर्ने यात्री प्राय भेटिंदैनन् । जिपले सोझै १ हजार माग्छन् भने बसले पनि ८ सयको दररेट लिने गरेका छन् । पिकअपले भने त्यो भन्दा बढी भाडा असुल गर्छन् । यसअघि बसले ८ सय ४० र जिपले ९ सय ८० लेखे पनि १ हजार १ सय भाडा असुल गर्थे । उक्त रेटलाई उनीहरुले कुनै न कुनै बाहनामा लिने गरेको यात्रीको गुनासो छ ।

२१ किमीको कुश्मीसेराका लागि बसको २ सय २० मात्रै भाडा लाग्ने समितिले निर्णय गरेको थियो । तर बलेवाको कैयादेखि कुश्मीसेरा गएको प्रतिव्यक्ति ३ सय भाडा लिने गरेका छन् । यो सडकमा सदरमुकामदेखि कुश्मीसेरा सम्मको जिपको भाडा जम्मा २ सय ६० लिन पाउने प्रावधान छ ।