• २० साउन २०८२, मङ्गलबार

पर्यटन प्रवर्धन रणनीतिक योजना

blog

कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता 

सुर्खेत, साउन २० गते । कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्न रणनीति योजना बनाएको छ । रणनीति योजना निर्माण गरेर पर्यटकीय क्षेत्रको पहिचान गर्न लागेको हो । ‘गन्तव्य कर्णाली एप’ निर्माण गरेर पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटन सूचना तथा अभिलेख केन्द्र स्थापना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । 

सरकारले पर्यटकीय क्षेत्रको गन्तव्य योजनाको प्राथमिकीकरण गर्न लागेको हो । हचुवाको भरमा पर्यटकीय क्षेत्रको विकास गरिँदा आर्थिक लाभ लिन नसकिएको तथा पर्यटकको रुचिसमेत नहुने हुँदा एपमार्फत पर्यटकीय क्षेत्रकाबारेमा जानकारी गराउन लागिएको हो । एपमार्फत पर्यटकलाई पर्यटकीय क्षेत्र र सेवालगायतका विषयमा जानकारी गराइने छ । चालु आर्थिक वर्षमा ‘गन्तव्य कर्णाली एप’ निर्माण गर्न लागिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि बढाएको छ । यो कार्यक्रम प्रदेशमा नै पहिलो पटक सञ्चालन गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी नीरज श्रेष्ठले बताउनुभयो । एप निर्माणका लागि चालु आवमा प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको छ । पर्यटकलाई प्रदेशमा सहज रूपमा आवागमन र घुमफिरका लागि एप निर्माण तथा सञ्चालन गर्न लागिएको हो । यो एप सञ्चालन भए मोबाइलबाटै कर्णाली घुम्न लायक क्षेत्रकाबारेमा जानकारी लिन सकिने छ । प्रदेश सरकारले ‘गन्तव्य कर्णाली एप’ सँगसँगै पर्यटक गाइड बुक पनि तयार गर्न लागेको छ । कर्णालीमा एकीकृत रूपमा पर्यटकीय गन्तव्यको सूची नहुँदा बाहिरी पर्यटक अलमलमा पर्ने तथा सास्ती पाउने गरेका छन् । सरकारले उक्त समस्यालाई मध्यनजर गर्दै पर्यटक गाइड बुक निर्माण गर्न लागेको हो । कर्णाली प्रदेशमा रहेका प्रमुख पर्यटन सम्पदाबारेमा जानकारी दिने उद्देश्यले पर्यटक गाइड बुक निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ । उक्त योजना अन्तर्गत पर्यटकलाई निर्भयका साथ घुमफिर गर्ने वातावरण निर्माण गर्न, पर्यटकको सुरक्षा र अप्ठ्यारो परिस्थितिमा तत्काल सहयोग गर्ने उद्देश्यले पर्यटक गाइड बुक निर्माण गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी नीरज श्रेष्ठले बताउनुभयो । 

सरकारले यो वर्ष पर्यटन प्रवर्धन विकासका कार्यक्रममा जोड दिएको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि ४३ करोड बजेट विनियोजन गरिएको छ । गत आवमा समेत प्रदेश सरकारले पर्यटन पूर्वाधारका कार्यक्रममा जोड दिएको थियो । पर्यटकीय क्षेत्रको पहिचान गरेर पूर्वाधार निर्माण तथा प्रचारप्रसार गर्ने योजनामा प्रदेश सरकार लागि परेको छ । यो वर्ष डिजिटल प्रविधिमार्फत योजना कार्यान्वयन गर्न लागिएको जनाइएको छ । अघिल्ला आर्थिक वर्षमा बजेटको स्रोत सुनिश्चित नगरेर पूर्वाधार निर्माणका काम सुरु गर्दा योजना अलपत्र पर्ने गरेका थिए । चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढाउन र पूर्वाधार निर्माण गरेर पर्यटन प्रवर्धन गर्न सरकारले चासो देखाएको छ ।