• १ जेठ २०८३, शुक्रबार

राप्तीनदीको पानी बढ्दै जाँदा तटीय क्षेत्रमा हाई अलर्ट जारी

blog

राप्ती नदीको राप्ती सोनारी क्षेत्रमा पानीको सतह चेतावनीको विन्दु पार गर्यो । तस्बिर : सिराज खान

सिराज खान 
नेपालगन्ज, साउन २० गते ।
गत दुई दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि बाँकेका तटिय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।  

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बाँके जिल्लास्थित पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रको जलसतहले चेतावनी तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रका वासिन्दालाई दिउँसोसम्म सतर्क रहन सूचना जारी गरिएको बताउनुभयो ।

उहाँले पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रका अनुसार अहिले त्यहाँ राप्ती नदीले चेतावनी तह चार मिटर ७० सेन्टिमिटर पार गरेर चार मिटर ८६ सेन्टिमिटर पुगेकोले जोखिम हुन सक्ने सबै ठाउँमा स्थानीयलाई अलर्ट गरेर स्थानीय विपद व्यवस्थापन समितिहरुलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिईएको बताउनुभयो ।

सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने सूचना पठाइएको बताउनुभयो ।

सोही प्रकारले बाँकेको कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा पनि जलसतह सतर्कताको विन्दु नजिक पुग्न लागेको जानकारी त्यहाँको जलमापन केन्द्रले गराएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

कुसुम जलमापन केन्द्रमा ६ मिटर पार गरिसकेपछि चेतावनी दिने भएकाले अहिले त्यहाँ पानीको सतह ५ मिटर ७४ सेन्टिमिटर पुगेकाले चेतावनी तह पारगरेपछि सबै क्षेत्रमा अलर्ट जारी गरिने जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताउनुभयो ।

उहाँले पानीको सतह बढ्दै गएको हुँदा नदी वरिपरिका बाँकेका दर्जनौ गाउँ बस्ती बाढीको उच्च जोखिममा रहेको बताउनुभयो । कसुममा पानीको सतह सात मिटर पुगेपछि जिल्लाका धेरै ठाउँ डुबान र बाढीमा पर्ने हुँदा सबैलाई अलर्ट गरेर तयारी अवस्थामा राखिएको ज्ञवालीको भनाइ छ ।

बाँके, दाङ, रोल्पा, प्यूठानमा लगातार दुई तीनदिनदेखि पानी परेकाले नदीको सतह बढ्दै गएको हो । मङ्गलबार बिहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको छ ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनी डुबानमा पर्दै आएका छन् ।