रानी समाचारदाता
रानी (मोरङ), साउन २० गते । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विशेष आतिथ्यमा बसेको बैठकमा प्रदेशको समग्र शान्तिसुरक्षा, विपत् व्यवस्थापन र सीमा सुरक्षाको अवस्थाबारे गहन छलफल गरिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाका अनुसार हाल देखिएका सुरक्षा चुनौती, गर्नुपर्ने कार्य र सीमा सुरक्षा सुदृढीकरणका उपायमाथि विस्तृत छलफल गरिएको छ ।
बैठकको अध्यक्षतासमेत गर्नुभएका कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेशमा थप सक्रिय भएको मनसुनबाट उत्पन्न विपत् प्रतिकार्यमा जुट्नेदेखि विराटनगरलगायत कोशी प्रदेशका विभिन्न स्थानमा हुने राधाकृष्णको रथयात्राको व्यवस्थापनबारे छलफलपछि निर्णय भएको जानकारी दिनुभएको छ ।
यस्तै लागुऔषध नियन्त्रण र सडक सुरक्षाका सम्बन्धमा प्रहरीको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै यसलाई थप प्रभावकारी बनाउने, चोरी पैठारी नियन्त्रणमा विशेष अभियान चलाउने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिनुभएको छ ।
बैठकका क्रममा मुख्यमन्त्री कार्कीले सीमाक्षेत्रमा भइरहेको तस्करी नियन्त्रणलाई अझ प्रभावकारी बनाउँदै सुरक्षा संयन्त्रलाई सक्रिय बनाउन निर्देशन दिनुभएको छ । उहाँले प्रदेशका विभिन्न जिल्लामा हुन लागेका रथयात्रा विशेष गरी विराटनगरको रथयात्राका सन्दर्भमा सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिनुभयो । चाडपर्व नजिकिँदै गरेको सन्दर्भमा कालोबजारी नियन्त्रण र बजार अनुगमनलाई तीव्रता दिनुपर्ने विषयमा पनि मुख्यमन्त्री कार्कीले जोड दिनुभएको छ, उहाँले बताउनुभयो । बैठकमा कोशी प्रदेशका सुरक्षा निकाय प्रमुख, मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारीको समेत उपस्थिति रहेको थियो ।