गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २० गते । नेपाल पत्रकार महासङ्घ युकेले विशेष समारोहबिच आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रम उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा र बेलायत शाखा अध्यक्ष बिमला सेनेले संयुक्त रूपमा गर्नुभएको महासङ्घ यूकेले जनाएको छ ।
राजदूत घिमिरेले यहाँका पत्रकारलाई आगामी दिनमा ब्रिटेनका मूलधारका मिडियामा कसरी आबद्ध हुन सकिन्छ त्यसबारे सोच्न सुझाउनुभयो । पत्रकारिता क्षेत्रमार्फत बेलायत–नेपाल सम्बन्ध प्रगाढ बनाउन अतुलनीय योगदान पुगेको उहाँले उल्लेख गर्नुभयो । राज्य बलियो बनाउन राज्यको चौथो अङ्ग पत्रकारिताको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उहाँले फुटेरभन्दा जुटेर शक्ति बढाउने काम गर्न सबैसँग आग्रह गर्नुभयो ।
केन्दीय अध्यक्ष शर्माले आफू पहिलो महिला अध्यक्षले वैदेशिक शाखाको पहिलो महिला अध्यक्ष बिमला सेनेलाई प्रत्यक्ष बधाई दिन पाउनु गर्वको विषय भएको बताउनुभयो । नेपालदेखिको पत्रकारिताको हुटहुटीलाई निरन्तरता दिन विदेशमा समेत यस पेसामा क्रियाशील हुनु चुनौतीपूर्ण रहेको बताउँदै उहाँले बेलायतको पत्रकारिताबाट केही नयाँ सिकेर त्यो ज्ञान, सिप नेपालमा लैजान सुझाव दिनुभयो ।
शाखा अध्यक्ष बिमला सेनेले अग्रजको मार्गदर्शन मानेर अगाडि बढ्ने जनाउँदै बेलायतमा बसेर पनि सानातिना कुरामा अल्झँदा समुदायमा राम्रो सन्देश नजाने भएकाले सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभयो ।सो अवसरमा शाखाले यसै वर्षदेखि सुरु गरेको ‘वर्ष पत्रकारिता सम्मान–२०२५’ बिबिसी नेपाली सेवाका पूर्वप्रमुख वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई प्रदान गरिएको थियो । नेपालीलाई २५१ पाउन्ड नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।