• २० साउन २०८२, मङ्गलबार

माओवादीले जनमुखी आन्दोलन गर्ने

blog

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकपछि सञ्चारकर्मीमाझ ।

गोरखापत्र समाचारदाता 

काठमाडौँ, साउन २० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी एकताबद्ध भएको घोषणा गर्दै जनमुखी आन्दोलनलाई सशक्त बनाउने सङ्कल्प गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दिनदेखि चलेको स्थायी समिति बैठकले विभिन्न निर्णय र प्रस्ताव पारित गर्दै गुटबन्दी अन्त्य भएको घोषणा पनि गरेको छ । 

सोमबार सम्पन्न बैठकपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रको गुटबन्दी तथा समूहको अन्त्य गरी एकताबद्ध रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका खेलेको हाम्रो पार्टीलाई एकताबद्ध बनाउने चुनौती थियो । यो जिम्मेवारी पूरा गरेका छौँ ।” 

उहाँले पार्टीले सामूहिक प्रतिबद्धतासाथ गुटबन्दी अन्त्य गरी एकताको सन्देश दिएको बताउनुभयो । फेरि एक पटक जनताबिच जाने सङ्कल्प गरेको र देशमा देखिएका समस्या समाधान गर्न जनमुखी आन्दोलन तीव्र बनाउने निर्णय भएको उहाँको भनाइ छ । अध्यक्ष प्रचण्डले बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै देशका समसामयिक चुनौती सम्बोधन गर्न नयाँ नीति तय गरेको बताउनुभयो । 

उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकबाट पार्टीको सङ्गठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता आवश्यक रहेको निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

पार्टीभित्र गुटबन्दी र स्वार्थ समूह खडा गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो । सापकोटाले भन्नुभयो, “पार्टी रूपान्तरणको महाअभियानमा छ । गुट उपगुट विघटन गर्ने निर्णय भएको छ । कोही निर्णयविपरीत जान्छ भने कारबाहीको दायरामा ल्याउने भनिएको छ । त्यसका लागि अनुगमन समिति बनाउने निर्णय भएको छ ।”

कार्यालयले केन्द्रीय समिति, केन्द्रीय समितिले क्षेत्रीय समिति र क्षेत्रीय समितिले तलका समितिको अनुगमन गर्ने छ । उहाँले भन्नुभयो, “अब साँच्चै विधि, प्रक्रियामा चल्ने सामूहिक प्रतिबद्धता जनाएका छौँ ।” बैठकले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा २६ बुँदे प्रस्ताव पारित गरेको छ । जनजीविका, सुशासन, सामाजिक न्याय र अन्तर्राष्ट्रिय मुद्दालाई समेट्दै प्रस्ताव पारित गरेको हो ।

माओवादीले रोकिएको जनअभियान भदौ १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय समिति बैठक दसैँपछि बस्ने र विप्लव नेतृत्वको नेकपालगायतका पार्टीसँग एकता गर्नेबारे पनि बैठकमा सहमति भएको छ । बैठकमा उपमहासचिव जनार्दन शर्माले माइनुटमा हस्ताक्षर गर्ने प्रतिबद्धता जनाए पनि आत्मालोचना भने नगरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । पारित प्रस्तावमा चुरे दोहन, जलस्रोत व्यवस्थापनको कमी र वातावरणीय असन्तुलनले तराई–मधेशमा भू–जल सङ्कट निम्तिएको ठहर गर्दै खडेरी प्रभावित किसानलाई तत्काल राहत र आत्मनिर्भर कृषि अर्थतन्त्रका लागि दीर्घकालीन तथा अल्पकालीन योजना माग गरिएको छ  

चाडपर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । विद्यालय शिक्षा विधेयक र नेपाल प्रहरी विधेयकमा भएको ढिलाइको विरोध गर्दै तत्काल पारित गर्न माग गरिएको छ ।

सहकारी ठगीमा संलग्नलाई कारबाही र पीडितको रकम फिर्ता गर्न र भोटेकोशी, त्रिशूली बाढीपीडितलाई राहत, घाइतेको निःशुल्क उपचार र पुनर्निर्माण माग गरिएको छ । शान्ति प्रक्रियाका बाँकी काम तीव्रतासाथ अगाडि बढाउन सरकारसँग माग गरिएको छ । मलखाद अभाव, बिचौलियाको प्रभाव र भ्रष्टाचारको भत्र्सना गर्दै मल, बिउ र समर्थन मूल्य सुनिश्चित गर्न माग गरिएको छ । 

संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेशको अधिकार र महिला तथा दलितको समावेशी प्रतिनिधित्वका लागि संविधान संशोधनको प्रतिबद्धता व्यक्त गरिएको छ । प्यालेस्टाइनी स्वतन्त्रताको समर्थन गर्दै गाजामा इजरायली नरसंहारको भत्र्सना गरिएको छ । विपिन जोशीको रिहाइ र नेपालीको सुरक्षाका लागि कूटनीतिक पहल माग गरिएको छ । 

सोमबार महासचिव देवप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बोल्नुभएपछि अध्यक्ष प्रचण्डले उठेका सवालमा जवाफ दिँदै बैठकको समापन गर्नुभएको थियो ।