• १९ साउन २०८२, सोमबार

पाकिस्तानमा बाढीका कारण १४० बालबालिकासहित दुई सय ९९ जनाको मृत्यु

blog

इस्लामाबाद, साउन १९ गते । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण १४० बालबालिकासहित कम्तीमा २९९ जनाको मृत्यु हुनुका साथै सात सयभन्दा बढी घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले जनाएको छ ।

एनडिएमएले जुन २६ मा सुरु भएको वर्षाले देशभरि विनाश निम्त्याएको जनाएको छ । मृतकमध्ये १०२ पुरुष, ५७ महिला र १४० बालबालिका रहेको तथा घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष भएको पुष्टि गरेको छ । पाकिस्तानी पत्रिका डनका अनुसार मौसमी वर्षाले एक हजार ६७६ घरहरू पनि क्षतिग्रस्त भएका छन् । बाढीका कारण ४२८ वटा गाईबस्तुको मृत्यु भएको छ भने प्रभावित समुदायका लागि थप कठिनाइ निम्त्याएको छ ।

एनडिएमएले २२३ वटा उद्धार अभियान सञ्चालन गरेको र बाढी प्रभावित क्षेत्रबाट दुई हजार ८८० जनालाई सफलतापूर्वक उद्धार गरेको पुष्टि गरेको छ । राहतमार्फत आवश्यक सामाग्रीहरू वितरण गरिएको जनाइएको छ । यसबाहेक, अधिकारीहरूले लाइफ ज्याकेट, जनस्वास्थ्य किट, पाल र पानी तान्ने पम्पहरू आपूर्ति गरेका छन् । ७१ वटा शिविर स्थापना गरी चिकित्सा सहायतासमेत प्रदान गरिएको जनाएको छ ।  

एनडिएमएले धेरै क्षेत्रहरू प्रभावित रहेको उल्लेख गरेको छ भने प्रान्तीय र सङ्घीय निकायहरूसँगै संयुक्त अभियानहरू सञ्चालन भइरहेको डनले जनाएको छ । पाकिस्तान मौसम विज्ञान विभाग (पिएमडी) ले अगस्ट ४ देखि अगस्ट ७ सम्म उत्तरी क्षेत्रहरूमा भारी वर्षा र चट्याङ्को पूर्वानुमान गरेको छ । यस अवधिमा खैबर पख्तुनख्वा, पन्जाब र इस्लामाबादमा वर्षा हुने सम्भावना छ भने गिलगिट–बाल्टिस्तानमा अगस्ट ५ देखि वर्षा हुने अनुमान गरिएको छ ।

बलुचिस्तानले अगस्ट ६ मा उत्तरपूर्वी र दक्षिणी भागहरूमा वर्षाको पूर्वानुमान गरेको छ भने तटीय क्षेत्रहरूमा हल्का वर्षाको साथ सिन्धमा पनि आद्र्रता बढ्ने अपेक्षा गरिएको छ । पन्जाबमा प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए)का महानिर्देशक इरफान अलि काठियाले आइतबार अगस्ट ५ देखि सुरु हुने अनुमान गरिएको मनसुन वर्षाको छैटौँ चरणको चेतावनी दिनुभएको छ । वर्षाले चेनाब र झेलम नदीमा बाढी आउदा जोखिम बढ्ने उहाँले बताउनुभएको छ ।  

लाहोर, मुरी, अटक, झेलम, गुजरानवाला, फैसलाबाद र डेरा गाजी खानलगायत दर्जनौँ जिल्लाहरू प्रभावित हुने सम्भावना जनाउदै अगस्टमा जुलाईको तुलनामा वर्षा बढी हुने पिडिएमएले चेतावनी दिएको छ । डनले मुर्री र गल्लियात दुवै लोकप्रिय पर्यटन क्षेत्रमा कमजोर भवन र माटोका घरहरूमा संरचनात्मक क्षति हुन सक्ने जनाएको छ । रासस/एएनआई