काठमाडौं, साउन १९ गते। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद तारा लामा तामाङले शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएका नागरिकको न्यूनतम आवश्यकता यथाशक्य चाँडो पूरा गर्न आग्रह गर्नुभएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले विस्थापित नागरिकहरू कञ्चनपुरको ढक्का शिविरसहित विभिन्न स्थानमा कष्टकर जीवन बिताउन बाध्य भइरहेको उल्लेख गर्दै मानवीय आवश्यकता तत्काल पूरा गरी दीर्घकालीन समाधानका लागि नेपाल सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
२०५८ सालदेखि अल्झिएको समस्या
विसं २०५८ मा शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएका नागरिकहरूको समस्या समाधानका लागि सरकारले हालसम्म ३२ वटा आयोग गठन गरे पनि समस्या जस्ताको तस्तै रहेको स्मरण गराउँदै उहाँले दीर्घकालीन समाधानको उपाय तत्काल खोजिनुपर्ने बताउनुभयो।
नदीजन्य पदार्थ निष्कासनमा व्यवधानप्रति चिन्ता
त्यसैगरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने महाकाली र चौधर नदीलगायतका नदीजन्य पदार्थ निष्कासन विगत तीन–चार वर्षदेखि रोकिएको जानकारी गराउँदै सांसद तामाङले सतह बढ्दै जाँदा जोखिम थपिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले यथाशक्य चाँडो नदीजन्य पदार्थ निकासीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो।
उहाँले राष्ट्रिय निकुञ्जअन्तर्गतका संरक्षित क्षेत्रहरूको संरक्षणसँगै त्यहाँ प्रभावित समुदायहरूको सुरक्षित बसोबास, जीविकोपार्जन र जोखिम न्यूनीकरणप्रति सरकार उत्तरदायी बन्नुपर्ने धारणा राख्नुभएको थियो।