शङ्कर केसी
सल्यान, साउन १९ गते । पहिरोको कारण अवरुद्ध बनेको लुहाम काभ्रा कालिमाटी सडकखण्ड ३० घण्टापछि खुलेको छ । सल्यानबाट प्रदेश राजधानी सुर्खेत तथा दाङ जोड्ने लुहाम काभ्रा कालिमाटी सडक पहिरोको कारण आइतबार बिहान ८ बजेबाट बन्द भएको थियो ।
कालिमाटी गाउँपालिकाले पहिरो हटाएपछि सोमबार दिउँसो २ बजेबाट सडक सुचारु भएको कालिमाटी, १ का वडाध्यक्ष रवीलाल बस्नेतले जानकारी दिनुभयो ।
कालिमाटी गाउँपालिका-१, दलपुरे भन्ने स्थानमा सुख्खा पहिरो झरेको थियो । 'ब्याक हाेल्डर'को सहायताले पहिरो पन्छाएर सडकको अवरोध हटाएपछि अहिले गाडीहरू आवतजावत गर्न थालेको वडाध्यक्ष बस्नेतले जनाउनुभयो । सल्यानको त्रिवेणी गाउँपालिका स्थित लुहामबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत तथा पश्चिम दाङ आउजाउ गर्नका लागि यो छोटो दूरीको सडक हो ।
यसैबिच कालिमाटी गाउँपालिका-१, बासखोला नजिकै पहिरो जाँदा लक्ष्मीपुर कालिमाटी मोटर बाटो बन्द भएको छ । सोमबार रातिदेखि मोटर बाटो बन्द भएको र पहिरो हटाउन अझै केही समय लाग्ने वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।